धवलागिरिको प्रशासकीय भवन निर्माण अन्तिम चरणमा


म्याग्दी, ५ असोज । म्याग्दीको धवलागिरि गाउँपालिकाको प्रशासकीय भवन निर्माण अन्तिम चरणमा पुगेको छ । करिब आठ करोडको लागतमा धवलागिरि-३ घट्टेखोलामा विस. २०७९ देखि शुरु भएको सुविधायुक्त प्रशासकीय भवन निर्माण शुरु भएको थियो । हालसम्म ८८ प्रतिशत भौतिक प्रगति भएको भवन निर्माण कार्य सम्पन्न गरि जटि सक्दो छिटो कार्यालय सञ्चालनको तयारीमा जुटेको धवलागिरि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद पौडेलले बताए ।

हाल साबिकको मुना गाविसको भवनमा तला र कोठा थप गरी सेवा प्रवाह गर्दै आएको गाउँपालिकाले घट्टेखोलामा स्थानीयबाट १४ रोपनी जग्गा निःशुल्क प्राप्त भएपछि सङ्घीय सरकारसँगको साझेदारीमा प्रशासकीय भवन निर्माणको योजना अघि बढाएको थियो ।

आव २०७९/८० मा प्रतिष्ठा–जुम्ली–माछापुच्छ्रे जेभीसँग सात करोड ७१ लाख ८९ हजार ६६६ मा ठेक्का सम्झौता भएको थियो । निर्माण सामग्रीमा भएको मूल्य वृद्धि तथा सङ्घीय सरकारले भुक्तानी कर तिर्नुपर्ने दायित्वको रकम आउन ढिलाइ हुँदा निर्माण प्रभावित र ढिलाई भएको गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताए ।

म्याग्दीका पाँच गाउँपालिकामध्ये प्रशासकीय भवन बनाउने पहिलो बनेको धवलागिरिको तीनतले भवनमा २७ वटा कोठा, एक÷एक वटा सभाहल र बैठक कक्ष हुनेगरी पूर्वाधार निर्माण भइरहेको छ ।

धवलागिरिमा प्रशासकीय भवनसँगै वडा कार्यालय, स्वास्थ्य चौकी भवन, सामुदायिक भवनहरू निर्माणले तीव्रता पाएको छ । धवलागिरि—७ ताकममा पाँच शैया क्षमताको आधारभूत अस्पताल निर्माणाधीन अवस्थामा रहेको छ । गुर्जा, मल्कबाङ, मुना र मुदीमा स्वास्थ्य चौकीका नयाँ भवन निर्माण भएका छन् । लमसुङ र मराङमा यसअघि नै स्वास्थ्य चौकीको भवन निर्माण भएका थिए ।

सेवा प्रवाहलाई व्यवस्थित र प्रभावकारी बनाउनका लागि धवलागिरि—२ लुलाङ, धवलागिरि—४ मुदी, धवलागिरि—६ मराङ र धवलागिरि—७ ताकममा वडा कार्यालयको नयाँ भवन निर्माण भइसकेको उपाध्यक्ष रेशम पुनमगरले बताए ।

उनका अनुसार धवलागिरि—५ मल्कबाङमा गाउँपालिकाले निर्माण गरेको बहुउद्देश्यीय सामुदायिक भवनबाट सेवा प्रवाह हुँदै आएको छ । गाउँपालिकाले गुर्जामा पनि वडा कार्यालयको भवन निर्माणको योजना बनाएको उपाध्यक्ष पुनले बताए ।