काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले ताभियोसँग द्विपक्षीय भेटवार्ता गरेका छन् ।
टर्किएको अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) का अवसरमा बुधबार भएको भेटवार्तामा परराष्ट्रमन्त्री खनालले हालै नेपालमा गएको विनाशकारी जलवायुजन्य बाढीपछि फिनल्यान्ड सरकार र त्यहाँका जनताले व्यक्त गरेको ऐक्यबद्धता तथा शीघ्र उपलब्ध गराएको मानवीय सहायताप्रति आभार व्यक्त गरे ।
उनले विपद्पछिको पुनःस्थापना तथा पुनर्निर्माणका प्रयास, प्रभावित समुदायको पुनर्वास र जलवायु परिवर्तनका कारण जनजीवन, जीविकोपार्जन तथा पर्वतीय पारिस्थितिक प्रणालीमा परिरहेको असमानुपातिक प्रभावबारे जानकारी गराए ।
भेटका क्रममा दुवै मन्त्रीले कोप–३१ प्रक्रियालगायत पारस्परिक चासोका विषयमा विचार आदानप्रदान गरेका थिए । साथै, नेपाल र फिनल्यान्डबिचको मैत्रीपूर्ण सम्बन्ध तथा सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे । दुवै पक्षले व्यापार, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल, पूर्वाधार विकास, वन संरक्षण, प्रविधि तथा जलवायु कार्यका क्षेत्रमा द्विपक्षीय सहयोग विस्तार गर्ने विषयमा समेत छलफल गरेका थिए ।




प्रतिक्रिया