काठमाडौं । सरकारले विद्युत् महसुलमा लागू गरेको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउने तयारी गरकेाे छ। चालु आर्थिक वर्षदेखि लागू गरिएको घरायसीतर्फ ५ प्रतिशत र औद्योगिक तथा अन्य गैरघरायसी ग्राहकतर्फ १३ प्रतिशत भ्याट व्यवस्था कार्यान्वयनमा आएको करिब दुई महिनामै हटाउने तयारी भएको हो।
आइतबार साँझ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र अर्थमन्त्री डा. स्वर्णिम वाग्बीच भएको छलफलमा विद्युत् सेवामा लगाइएको भ्याट हटाउने विषयमा सैद्धान्तिक सहमति जुटेको ऊर्जा मन्त्रालयका स्रोतले जनाएको छ।
प्रधानमन्त्रीसमेत विद्युत्मा भ्याट हटाउने विषयमा सकारात्मक देखिएपछि ऊर्जा र अर्थ मन्त्रालयबीच सहमति बनेको बताइएको छ। अब मन्त्रिपरिषद्को बैठकबाट औपचारिक निर्णय भएपछि भ्याट हटाउने प्रक्रिया अघि बढ्नेछ।
सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत विद्युत् सेवामा भ्याट लागू गरेको थियो। नयाँ व्यवस्थाअनुसार मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने घरायसी ग्राहकबाट ५ प्रतिशत तथा अन्य ग्राहकबाट १३ प्रतिशत भ्याट असुल गर्न थालिएको थियो।
भ्याट कार्यान्वयन साउनदेखि हुनुपर्ने भए पनि असारकै बिलमा समेत कर समावेश भएपछि नेपाल विद्युत् प्राधिकरणले आन्तरिक राजस्व विभागसँग स्पष्टता मागेको थियो। विभागले साउनदेखि मात्रै भ्याट लागू हुने जानकारी दिएपछि प्राधिकरणले आफ्नो बिलिङ प्रणाली सोहीअनुसार अद्यावधिक गरेको थियो।
ऊर्जा मन्त्रालयका अनुसार भ्याट हटाउने निर्णय भएपछि साउनदेखि विद्युत् महसुलमा असुल गरिएको करको हिसाबसमेत मिलाइनेछ। यसअघि उपभोक्ताबाट उठाइएको भ्याट आगामी विद्युत् बिलमा समायोजन गर्ने तयारी भइरहेको छ।




प्रतिक्रिया