त्रिपुरेश्वरमा बसमा आगलागी : चालक जलेर घाइते,उपचारका लागि पठाइयो अस्पताल


काठमाडौँ । काठमाडौँको त्रिपुरेश्वरमा एक सार्वजनिक बसका चालकले आफू बसभित्रै रहेको अवस्थामा गाडीमा आगजनी गरेका छन्। बा ५ ख ४२७४ नम्बरको बसका २५ वर्षीय चालक दावा लामाले बसमा आगो लगाएको प्रहरीले जनाएको छ।

घटना हुँदा बसमा कुनै यात्रु नरहेको प्रहरीले जानकारी दिएको छ। चालक लामाले बसभित्रै बसेर आगो लगाएपछि केहीबेरमै गाडीमा ठूलो आगलागी भएको थियो। आगलागीको खबर पाएलगत्तै दमकल घटनास्थल पुगेर आगो नियन्त्रणमा लिएको थियो।

आगो लगाउँदा चालक स्वयं जलेर घाइते भएका छन्। उनलाई तत्काल उद्धार गरी उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल पुर्‍याइएको छ। उनको स्वास्थ्य अवस्थाबारे थप विवरण प्राप्त हुन बाँकी रहेको प्रहरीले जनाएको छ।

चालकले बसमा आगो लगाउनुको वास्तविक कारण भने अहिलेसम्म खुलेको छैन। प्रारम्भिक रूपमा ट्राफिक प्रहरीसँग भएको विवादपछि उनी आक्रोशित बनेर यस्तो कदम चालेको हुनसक्ने आशंका गरिएको छ।