योगेशप्रति ओलीको कटाक्ष– ‘अध्यक्ष असान्दर्भिक भयो भन्ने को न्यायाधीश?’


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले उपमहासचिव योगेश भट्टराईलाई लक्षित गर्दै चर्को असन्तुष्टि व्यक्त गरेका छन्। सोमबार पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्ने क्रममा उनले असन्तुष्टि व्यक्त गरेका हुन् ।

उपमहासचिव भट्टराईले केही दिनअघि अध्यक्षले स्वविवेकले राजीनामा दिनुपर्ने बताएका थिए ।

‘केन्द्रीय कमिटीबाट नेतृत्वको हस्तान्तरणको सहज विधि र प्रक्रिया बनाएर निकास दिन्छौँ। त्यसका लागि विधानमा संशोधन, राष्ट्रिय भेलाको आयोजना गर्नुपर्छ कि, विशेष महाधिवेशनको आयोजना गर्नुपर्छ यी सबै प्रक्रियामा अब पार्टी जान्छ, जानुपर्छ,’ योगेशले भनेका थिए ।

योगेशप्रति लक्षित गर्दै ओलीले भने, ‘पार्टीभित्रै केही व्यक्ति र तत्त्वहरू पार्टीभित्र समस्या सिर्जना गर्न उद्यत भए । समस्याको सिर्जना हुन थाले । पार्टीभित्रको बहस पार्टीभित्र, कमिटीभित्र छलफल हुन सक्थ्यो । तर मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो, यस्ता कुराहरू बोल्ने को न्यायाधीश ?’

उनले पार्टीमा भएका नेताहरूले बाहिर गएर बोल्ने छुट नभएको बताए।

विरोधीलाई खेल्ने ठाउँ नदिनको लागि पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिए। अनुशासनमा कमजोर भएको पार्टी एमाले बन्दा आफूलाई दुख लागेको बताए।