काठमाडौँ । नेपालले नगन्य कार्बन उत्सर्जन गरेर पनि जलवायु परिवर्तनको भारी मूल्य चुकाउनु परिरहेको यथार्थलाई आसन्न संयुक्त राष्ट्रसंघको महासभामा सशक्त रूपमा उठाउन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ।
सिंहदरबार पुगेर कांग्रेस उपसभापति विश्वप्रकाश शर्मा र नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री वालेन्द्र शाहलाई भेट्दै पार्टीको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले तयार पारेको जलवायु परिवर्तनसम्बन्धी धारणा-पत्र हस्तान्तरण गरेका हुन्।
भोटेकोशी विपद्लगायत नेपालले हालै भोगेका प्राकृतिक संकटहरूलाई सतही रूपमा नभई तथ्य र अकाट्य प्रमाणसहित अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्न कांग्रेसले प्रधानमन्त्रीलाई आग्रह गरेको छ।
भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपसभापति शर्माले नेपालले भोगिरहेको जलवायु अन्यायको चित्र उतारे। विश्वको कूल कार्बन उत्सर्जनमा नेपालको हिस्सेदारी १ प्रतिशतभन्दा पनि कम छ, तर त्यसको असर भने जन्मकैदसरहको ठूलो विपद् र क्षतिका रूपमा नेपालीले भोग्नुपरेको छ।
“राष्ट्रसंघको महासभामा जाँदै गर्दा प्रधानमन्त्रीको साथमा सिंगो देश, सम्पूर्ण नेपाली र प्रमुख प्रतिपक्षी दल एकजुट छ भन्ने बलियो सन्देश दिन खोजेका हौँ,” शर्माले भने, “हाम्रो उपस्थिति औपचारिक सम्बोधनमा मात्र सीमित हुनुहुँदैन। साइडलाइन वार्ता, निरन्तर लबिङ र मुभमेन्टमार्फत नेपालको पक्षमा विश्वव्यापी ऐक्यबद्धता जुटाउनुपर्छ।”
नेपालले आफू मात्र नभई न्यून कार्बन उत्सर्जन गरेर पनि जलवायु संकटको मारमा परेका सम्पूर्ण साना राष्ट्रहरूको विश्वव्यापी नेतृत्व लिनुपर्ने सुझाव कांग्रेसको छ। सन् २०१५ को पेरिस सम्झौताको पूर्ण कार्यान्वयनका लागि ठूला र बढी कार्बन उत्सर्जन गर्ने मुलुकहरूसँग कूटनीतिक चातुर्यता र संयमताका साथ गहन संवाद चलाउनुपर्नेमा प्रतिपक्षी दलले जोड दिएको छ।
प्रतिपक्षी दलको तर्फबाट आएको सुझाव र धारणा-पत्र ग्रहण गर्दै प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रसंघमा प्रस्तुत गरिने नेपालको दस्तावेज विज्ञहरूको गहन अध्ययन र वस्तुनिष्ठ तथ्यमै आधारित हुने जानकारी दिए। राष्ट्रिय हित र जलवायु न्यायका विषयमा सरकार सशक्त रूपमा प्रस्तुत हुने उनले बताए।




प्रतिक्रिया