परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री तोसिमित्सुबीच द्विपक्षीय भेटवार्ता


काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र जापानका विदेशमन्त्री मोटेगी तोसिमित्सुबीच द्विपक्षीय भेटवार्ता भएको छ । उनीहरूबीच संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका क्रममा न्युयोर्कमा भेटवार्ता भएको हो ।

भेटवार्तामा नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति जापानका विदेशमन्त्री मोटेगीले गहिरो दुःख व्यक्त गर्दै पीडितप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवार र प्रभावितप्रति समवेदना व्यक्त गरेका थिए ।

उनले विपद्‌बाट प्रभावितको उद्धार तथा सहयोगका लागि नेपाल सरकारले गरिरहेको निरन्तर प्रयासको प्रशंसा गर्दै जापान नेपालसँगै रहेको बताएका छन् । जापानले आपत्कालीन अवस्थादेखि मध्यम तथा दीर्घकालीन चरणसम्म नेपाललाई सहयोग जारी राख्ने प्रतिबद्धता उनले जनाए ।

परराष्ट्रमन्त्री खनालले बाढीबाट भएको क्षतिप्रति जापान सरकार र जापानी जनताले व्यक्त गरेको समवेदना तथा ऐक्यबद्धताका लागि धन्यवाद दिए । साथै, विपद्‌मा हराइरहेका विदेशी नागरिक, जापानी नागरिकसमेतको खोज तथा उद्धारका लागि नेपाल सरकारले कुनै कसर बाँकी नराखी प्रयास गरिरहेको जानकारी गराए ।

भेटमा यस वर्ष नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सव मनाइरहेको विषयमा पनि छलफल भएको थियो ।

जापानका विदेशमन्त्री मोटेगीले लोकतन्त्रको सुदृढीकरण तथा राष्ट्र निर्माणका क्रममा जापानले नेपाललाई निरन्तर सहयोग गर्दै आएको उल्लेख गर्दै आगामी नोभेम्बरमा नेपालमा आयोजना हुने ‘नेपाल–जापान फेस्टिभल’ले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप गहिरो बनाउन योगदान पुर्‍याउने विश्वास व्यक्त गरे ।

खनालले प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारसँग जापानले नेपालका विकास प्रयासलाई निरन्तर सहयोग गर्ने बताए ।