वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ


काठमाडौं, ६ असोज । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१० बस्ने अर्घाखाँची घर भएकी ३१ वर्षीया मनिषा सुनार, ३४ वर्षीय ठाकुर बहादुर सुनार, काठमाडौं तारकेश्वर नगरपालिका-१६ बस्ने पाल्पा घर भएका ४९ वर्षीय खोप बहादुर शाही, भक्तपुर सूर्यविनायक नगरपालिका-७ बस्ने ४९ वर्षीय दिपेन्द्र खत्री र स्याङ्जा घर भएकी ४८ वर्षीया सिता लुईटेल रहेका छन् ।

पक्राउ मध्ये मनिषा र ठाकुर बहादुरले बेलायत पठाइदिन्छु भन्दै १ जना पीडितबाट १२ लाख रूपैयाँ, खोप बहादुरले रोमानिया पठादिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ, दिपेन्द्रले न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ५० हजार रूपैयाँ र सिताले पोर्चुगल पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले मनिषा र ठाकुर बहादुरलाई काठमाडौं महानगरपालिका-९ बाट शनिबार, खोप बहादुरलाई काठमाडौं तारकेश्वर नगरपालिका-१६ बाट आइतबार, दिपेन्द्र र सितालाई काठमाडौं महानगरपालिका-१२ बाट सोमबार पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।