काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले मुलुकको समृद्धि र संकटमा खेलेको भूमिकाको उच्च प्रशंसा गर्दै स्वतन्त्र नागरिक अभियानका अध्यक्ष ऋषि धमलाले एनआरएनएलाई नेपालमा लगानीका लागि रातो कार्पेट ओछ्याएर स्वागत गर्नुपर्ने बताएका छन्।
रिपोर्टर्स क्लब नेपालमा आयोजित गैरआवासीय नेपाली संघसँगको साक्षात्कार कार्यक्रममा बोल्दै राष्ट्रिय राजनीति र जनसरोकारका विषयमा निरन्तर प्रखर आवाज उठाउँदै आएका अध्यक्ष धमलाले एनआरएनएका जायज मागहरू राज्यले अविलम्ब सम्बोधन गर्नुपर्नेमा जोड दिए।
‘एकपटकको नेपाली सधैँको नेपाली हुनुपर्छ,’ धमलाले भने, ‘विश्वभर छरिएका नेपालीहरूले आफ्नै मिहिनेत र क्षमताले प्रगति गरे, तर हाम्रो देश भने अपेक्षित रूपमा विकासमा अघि बढ्न सकेन। अब एनआरएनएको लगानी र प्रविधि भित्र्याउन सरकारले सम्पूर्ण कानुनी र व्यावहारिक बाधा-अड्चन फुकाउनुपर्छ।’
एनआरएनएले आफूले अनेक दुः ख-पीडा भोगेर पनि मातृभूमि संकटमा पर्दा सदैव अग्रपंक्तिमा रहेर मलम लगाउँदै आएको स्मरण गराउँदै धमलाले उनीहरूलाई आगामी स्थानीय तहको निर्वाचनमा भोट हाल्ने अधिकार र निर्बाध रूपमा नेपालमा आएर काम गर्ने वातावरण मिलाउनुपर्ने बताए।
आफ्नो नेतृत्वमा रहेको स्वतन्त्र नागरिक अभियानका तर्फबाट गैरआवासीय नेपालीका अधिकारका लागि आवाज उठाउने भन्दै धमलाले भने, ‘हामी एनआरएनएको अधिकार स्थापित गर्न देशैभरि अभियान चलाउन तयार छौँ। वंशजको नागरिकताको निरन्तरता र मताधिकार सुनिश्चित नगरेसम्म हाम्रो अभियान रोकिने छैन।’
मुलुकमा लगानीको भरपर्दो वातावरण बनाउन प्रधानमन्त्री बालेन शाह स्वयंले गैरआवासीय नेपालीलाई विशेष सम्बोधन गर्दै आह्वान गर्नुपर्ने धारणा उनले राखे।
भारत, अस्ट्रेलिया, अमेरिका, बेलायत, क्यानडा र चीन जस्ता विकसित मुलुकको विकास प्रत्यक्ष देखेका गैरआवासीय नेपालीहरू नेपालमा पनि त्यस्तै विकास चाहन्छन् भन्दै धमलाले त्यसका लागि मुलुकमा सुशासन कायम हुनुपर्ने र भ्रष्टाचारीहरूमाथि कडा कारबाही हुनुपर्नेमा जोड दिए।





प्रतिक्रिया