काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) की महिला उपाध्यक्ष राधिका गुरुङ ‘टीका’ले देशमा आइपर्ने हरेक विपद्मा संसारभर छरिएका गैरआवासीय नेपालीहरूको मन दुख्ने बताएकी छन् ।
रिपोर्टर्स क्लब नेपालमा आयोजित गैरआवासीय नेपाली संघसँगको साक्षात्कार कार्यक्रममा बोल्दै उपाध्यक्ष गुरुङले हालै भोटेकोशी बाढीले रसुवा, नुवाकोट र धादिङमा पुर्याएको विनाशप्रति गहिरो दुःख व्यक्त गरिन् । “जब देशमा आपत् पर्छ, मातृभूमिलाई दुख्छ, त्यतिबेला विदेशमा रहेका ८० लाख गैरआवासीय नेपालीहरूलाई झनै धेरै दुख्छ,” उनले भनिन् ।
बाढी र पहिरोपछि एनआरएनएले तीन चरणमा राहत, उद्धार र सहयोग सामग्री वितरण गरेको जानकारी दिँदै उनले प्रभावित क्षेत्रको अवस्था निकै हृदयविदारक रहेको बताइन् । “रसुवा र नुवाकोटका बाढीग्रस्त क्षेत्रमा पुग्दा सिङ्गो बस्ती बगरमा परिणत भएको देख्दा हामी सबै भावुक भयौँ,” गुरुङले भनिन्, “विपद्ग्रस्त क्षेत्रबाट फर्किंदा पीडितहरूका लागि अझै धेरै काम गर्नुपर्ने आवश्यकता महसुस भएको छ ।”
समयमा उद्धार हुन नसक्दा चिलिमे सुरुङभित्र फसेका व्यक्तिहरूको मृत्यु भएको खबरले आफूहरूलाई अत्यन्तै मर्माहत बनाएको उनले उल्लेख गरिन् ।
उपाध्यक्ष गुरुङले आगामी दिनमा बाढीपीडित क्षेत्रको पुनःस्थापनाका लागि नेपाल सरकारसँग मिलेर काम गर्न एनआरएनए तयार रहेको स्पष्ट पारिन् । खासगरी बाढीपहिरोका कारण श्रीमान् गुमाएर आश्रयविहीन बनेका महिलाहरूलाई लक्षित गरी सीपमूलक तालिम सञ्चालन गरिने उनको भनाइ छ ।
“श्रीमान् गुमाएर सहाराविहीन बनेका बाढीपीडित महिलाहरूलाई विभिन्न सीपमूलक तालिम दिएर स्वनिर्भर बनाउन एनआरएनएले पहल गर्नेछ,” उनले भनिन् ।





प्रतिक्रिया