‘हामी माग्न होइन, देशलाई दिन आएका हौँ’ : एनआरएनए उपाध्यक्ष रोजिना प्रधान


काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) की उपाध्यक्ष रोजिना प्रधानले गैरआवासीय नेपालीहरू स्वदेशमा केही माग्न नभई योगदान दिन आएको बताएकी छन् ।

रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उपाध्यक्ष प्रधानले विदेशमा रहेका नेपालीसँग पुँजीका साथै उच्च ज्ञान र सीपसमेत रहेकाले त्यसलाई नेपालको समृद्धिमा लगाउनुपर्नेमा जोड दिइन् ।

‘हामी नेपालमा माग्न आएका होइनौँ, दिन आएका हौँ,’ उपाध्यक्ष प्रधानले भनिन्, ‘विदेशमा हामीलाई सबै कुरा पुगिरहेकै छ । तर, आफ्नै मातृभूमिको विकासमा केही न केही योगदान दिएर समृद्ध नेपाल निर्माणमा सघाउने हाम्रो उत्कट चाहना हो ।’

उनले एनआरएनएको सम्पत्ति मात्रै भित्र्याएर मुलुकको समग्र विकास नहुने उल्लेख गर्दै विदेशमा रहेका गैरआवासीय विज्ञ इन्जिनियर, वैज्ञानिक, प्राध्यापक तथा विभिन्न विषयका विज्ञहरूलाई नेपाल ल्याउनुपर्ने बताइन् ।

भोटेकोशी बाढी तथा विभिन्न प्राकृतिक विपद्का कारण नेपालीहरूले भोगेको पीडाले प्रवासमा बस्ने नेपालीहरूलाई पनि उत्तिकै दुखाएको प्रधानको भनाइ थियो । रसुवा र नुवाकोटका बाढीप्रभावित क्षेत्रको स्थलगत भ्रमण गर्दाको हृदयविदारक दृश्य स्मरण गर्दै उनले भनिन्, ‘त्यहाँ मानवका अङ्गहरू छरिएका देख्दा नरुने कोही थिएन । विपद्को यस्तो कठिन घडीमा एनआरएनएले पनि निरन्तर राहत र सहयोग गर्दै आएको छ ।’

विदेशमा जन्मिएका र हुर्केका गैरआवासीय नेपालीका बालबालिकाहरूले उतैको गुणस्तरीय शिक्षा र सीप हासिल गरे पनि उनीहरू नेपालसँग जोडिन अनि आफ्नो क्षमता यहाँ प्रयोग गर्न इच्छुक रहेको उनले बताइन् । त्यस्ता युवा पुस्तालाई नेपालको विकास प्रक्रियामा जोड्ने वातावरण बनाउनुपर्नेमा प्रधानले जोड दिइन् ।

अहिलेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहभागी सरकार र युवा मन्त्रीहरूबाट गैरआवासीय नेपालीले ठूलो आशा र अपेक्षा राखेको उल्लेख गर्दै उनले अनुकूल नीतिको आवश्यकता औंल्याइन् ।

‘सरकारको नीति र कानुन सहज नभएसम्म काम गर्न गाह्रो हुन्छ,’ नागरिकता निरन्तरताको प्रसङ्ग उठाउँदै प्रधानले भनिन्, ‘त्यसैले हामीले ‘एकपटकको नेपाली, सधैँको नेपाली’ भन्ने मान्यताअनुसार वंशजको नागरिकताको निरन्तरता चाहेका हौँ ।’