धादिङ, ६ असोज । धादिङका उद्योगी–व्यवसायीले भोटेकोशी हुँदै त्रिशूली नदीमा गएको बाढीले मलेखुनजिक ‘फुर्केखोला’स्थित पुल बगाएसँगै आवतजावत बिच्छेद भएकाले सो ठाउँमा तत्काल पुल निर्माण गर्न सरकारसँग माग गरेका छन् ।
धादिङ उद्योग वाणिज्य सङ्घको नेतृत्वमा गएको प्रतिनिधिमण्डले फुर्केखोलामा पुल निर्माण गरी धादिङको मध्य तथा उत्तरी क्षेत्रको यातायात सञ्जाललाई पृथ्वीराजमार्गसँग जोड्न सरकारको ध्यानाकर्षण गरेको हो ।
प्रमुख जिल्ला अधिकारीमार्फत नेपाल सरकारलाई आज ध्यानाकर्षणपत्र बुझाउँदै सो प्रतिनिधिमण्डलले पुल निर्माण, वैकल्पिक सडक मर्मतसम्भार तथा बाढी प्रभावित उद्योगी–व्यवसायीलाई राहतसुविधासहित पुनःस्थापनाका लागि विशेष कार्यक्रमको व्यवस्था गर्न अनुरोध गरेको छ ।
सङ्घका अध्यक्ष रामकुमार डल्लाकोटीले गत भदौ १० गतेको बाढीले फुर्केखोला पुल बगाएपछि धादिङबेँसीसहित जिल्लाको मध्य तथा उत्तरी क्षेत्रका आठ स्थानीय तहको पृथ्वी राजमार्गसँगको सीधा सडक सम्पर्क विच्छेद भएकाले सोही स्थानमा तत्काल ‘बेलिब्रिज’को व्यवस्था गर्न अनुरोध गरेको बताए ।
पृथ्वी राजमार्गलाई जोड्ने सो पुल बगेसँगै मध्य तथा उत्तरी क्षेत्रका जनताले दुःख व्यहोर्नुपरेको उल्लेख गर्दै अध्यक्ष डल्लाकोटीले आसन्न चाडपर्व, बिरामी, अशक्त, विद्यार्थीसहित आमजनजीवनसँग प्रत्यक्ष जोडिएको सो पुल निर्माणलाई उच्च प्राथमिकता दिन सरकारको ध्यानाकर्षण गरे ।
बाढीबाट प्रभावित उद्योगी–व्यवसायीलाई प्राथमिकता दिई बैङ्क तथा वित्तीय संस्थाबाट लिइएको कर्जाको साँवा–ब्याज भुक्तानीमा कम्तीमा एक वर्षको समय दिन, क्षतिको आधारमा व्याजदरमा सहुलियत प्रदान गर्न, कालोसूचीमा पर्नबाट जोगाउन, नेपाल राष्ट्र बैङ्कमार्फत् विशेष सहुलियतको व्यवस्था गर्न, जिल्लामा आपूर्ति व्यवस्था सहज तुल्याउन र ज्यान गुमाएका नागरिकका परिवारलाई मृत्यु दर्तालगायत कानुनी प्रक्रियामा सहजीकरण गरिदिन अनुरोध गरिएको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।




प्रतिक्रिया