झापा, ललितपुर र कैलालीमा पाँच जना मृत फेला


काठमाडौँ । झापा, ललितपुर र कैलालीका विभिन्न स्थानमा पाँच जना मृत अवस्थामा फेला परेका छन्।

प्रहरीका अनुसार झापाको गौरीगञ्ज गाउँपालिका–१ र गौरादह नगरपालिका–९ बीचमा पर्ने कमला खोलामा करिब ३५ वर्षीय एक पुरुषको शव भेटिएको छ। मृतकको नाम, थर र ठेगाना खुल्न सकेको छैन।

ललितपुर महानगरपालिका–४ स्थित जावलाखेल चोकमा पनि करिब ५० वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन्। उनको समेत परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

ललितपुरकै बागमती गाउँपालिका–१, टिकाभैरव घुसेलस्थित छाला बेसीमा बागमती खोलाको किनारमा सर्लाहीको लालबन्दी नगरपालिका–१४ घर भएका ८२ वर्षीय बखत सिंह लो तामाङको शव फेला परेको छ।

यता, कैलालीको लम्कीचुहा नगरपालिका–४ गिधिनियास्थित सडकमा स्थानीय ४२ वर्षीय अबिराम जैशी मृत अवस्थामा भेटिएका छन्। त्यस्तै, चुरे गाउँपालिका–१ निगालीका ५२ वर्षीय यज्ञबहादुर बोहरा सोही वडाको तुलिखेत जंगलस्थित भिरमा मृत फेला परेका छन्।

पाँचै घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ।