काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद बसुमाया तामाङले भोटेकोसी बाढीमा बेपत्ता भएका नागरिकको हकमा सामूहिक रूपमा मृत्यु घोषणा गरी मृत्यु दर्ता प्रक्रिया तत्काल अघि बढाउन सरकारसँग माग गरेकी छन्।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै तामाङले बाढीपछि बेपत्ता नागरिकका परिवारले स्थानीय तहबाट मृत्यु दर्ता र नाता प्रमाणितसम्बन्धी कागजात लिन नसक्दा थप समस्या भोग्नुपरेको बताइन्।
उनका अनुसार प्रक्रियागत झन्झट र ढिलाइका कारण पीडित परिवार बिमा तथा राहत सुविधाबाट समेत वञ्चित हुने अवस्था आएको छ। साथै, अभिभावक गुमाएका बालबालिकाको शिक्षामा समेत असर पर्ने जोखिम रहेको उनले उल्लेख गरिन्।
तामाङले पीडित परिवारलाई सहज सेवा उपलब्ध गराउन सरकारले कर्मचारी परिचालन गरी घरघरमै पुगेर मृत्यु दर्ता तथा नाता प्रमाणितको व्यवस्था गर्नुपर्ने माग गरिन्।




प्रतिक्रिया