यातायात महासंघले भन्याे-‘बिहीबारदेखि टाढा र रातको समयमा यात्रा नगर्नु’


काठमाडौं । नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले बिहीबारदेखि टाढा र रातको समयमा यात्रा नगर्न आह्वान गरेका छन् । महासंघले आज एक विज्ञप्ति जारी गर्दै बिहीबारदेखि १२ असोजसम्म टाढा र रातको समयमा यात्रा नगर्न आग्रह गरेको हो ।

महासंघले यातायात सेवा सञ्चालन गर्नुपूर्व बाटोको अवस्था र मौसमबारे अनिवार्य जानकारी लिन आह्वान गरेको छ ।

साथै अत्यावश्यक नपरेसम्म टाढाको यात्रा नगर्न महासंघले सबैलाई आग्रह गरेको छ । यसअघि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सरोकारवालालाई यस्तो अनुरोध गरिसकेको छ ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखा तथा बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म देशका विभिन्न भागमा मध्यमदेखि भारी वर्षा हुनुका साथै साना(ठूला नदी तथा खोलाहरूमा आकस्मिक बाढीको उच्च जोखिम रहेको जनाएको छ।

महाशाखाले वर्षाका कारण नदी प्रणालीहरूमा जलसतह उल्लेख्य बढ्न सक्ने भएकाले तटीय तथा जोखिमयुक्त क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

सोही अनुसार यातायात सञ्चालन गर्न महासंघले आफ्नो सदस्यहरुलाई सचेत गराएको छ । यस साता अविरल वर्षा हुने र यसले सडकमा बाढी तथा पहिरोको जोखिम हुने भन्दै सरकारले सबैमा सचेत हुन पनि भनेको छ ।