काठमाडौ । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन हाल अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत सम्भावित वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव, डुबान तथा सडक र हवाई यातायातमा अवरोध हुन सक्ने भन्दै आवश्यक सावधानी अपनाउन आग्रह गरेका हुन्।
मौसम विज्ञान विभागका अनुसार असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको छ। प्रधानमन्त्री शाहले सम्भावित विपद्को जोखिम न्यूनीकरणका लागि सम्बन्धित निकायलाई आवश्यक तयारी, समन्वय र पूर्वसतर्कता अपनाउनसमेत आग्रह गरेका छन्।
पूर्वानुमानअनुसार गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि अति भारी वर्षा तथा एक–दुई स्थानमा अति भारी वर्षा हुन सक्ने सम्भावना छ। त्यस्तै, कोशी, बागमती, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि भारीदेखि धेरै भारी वर्षा हुन सक्ने जनाइएको छ।
विशेषगरी गण्डकी प्रदेशको पोखरा आसपास, लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्र, कोशी प्रदेशको ताप्लेजुङलगायत हिमाली भूभाग, बागमती प्रदेशका पहाडी क्षेत्र, कर्णालीको जुम्ला आसपास तथा सुदूरपश्चिमका पहाडी क्षेत्रमा बाढी, पहिरो, डुबान र सडक अवरोधको जोखिमप्रति विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।
प्रधानमन्त्री शाहले पानी परिरहेको समयमा तथा रातिको समयमा सकेसम्म राजमार्गमा यात्रा नगर्न, पहिरो तथा बाढीको जोखिम भएका क्षेत्र र नदी तथा खोलानजिक नजान तथा त्यस्ता क्षेत्रमा विशेष सावधानी अपनाउन अनुरोध गरेका छन्।
त्यस्तै, ट्रेकिङ तथा हिमाली क्षेत्रमा जाने योजना बनाएका व्यक्तिलाई मौसममा सुधार नआएसम्म यात्रा स्थगित वा पुनर्विचार गर्न आग्रह गरिएको छ। मौसम विज्ञान विभाग तथा स्थानीय प्रशासनबाट जारी हुने मौसम र विपद्सम्बन्धी सूचनालाई नियमित रूपमा हेर्न तथा आवश्यक अवस्थामा सम्बन्धित निकायको निर्देशन पालना गर्न पनि प्रधानमन्त्री शाहले नागरिकलाई आग्रह गरेका छन्।




प्रतिक्रिया