काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह आगामी नोभेम्बर महिनामा भारतको औपचारिक भ्रमणमा जाने तयारी भइरहेको छ। भारतीय न्यूज च्यानल ‘आजतक’को अनलाइन संस्करणका अनुसार आगामी नोभेम्बर २३ देखि २५ सम्म भ्रमण गराउने गरी आन्तरिक तयारी अघि बढाइएको हो।
संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन हाल अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री शाहको पहिलो विदेश यात्रा अमेरिका भए पनि औपचारिक द्विपक्षीय विदेश भ्रमण भने भारत नै हुने समाचारमा उल्लेख छ।
अमेरिकाबाट फर्किएलगत्तै हुने सम्भावित भारत भ्रमणका क्रममा दुई देशबीच कनेक्टिभिटी, ऊर्जा सहयोग, व्यापार अभिवृद्धि, भौतिक पूर्वाधार निर्माण तथा बाढीपछिको पुनर्निर्माणजस्ता विषयमा द्विपक्षीय छलफल हुने सम्भावना छ। त्यसैगरी, लामो समयदेखि प्रक्रियामा रहेको रक्सौल–काठमाडौँ ब्रोडगेज रेल लिङ्क र जनकपुर–अयोध्या यात्रु रेल सेवा सञ्चालनजस्ता महत्त्वपूर्ण आयोजनालाई अघि बढाउने विषयमा पनि कुराकानी हुने जनाइएको छ।
भारतीय मिडियाले भ्रमणको तयारी भइरहेको दाबी गरे पनि मिति भने औपचारिक रूपमा टुङ्गो लाग्न बाँकी रहेको जनाएका छन्। यस भ्रमणबारे नेपाली पक्षले भने हालसम्म कुनै औपचारिक प्रतिक्रिया वा आधिकारिक घोषणा गरेको छैन।




प्रतिक्रिया