गण्डकी, ८ असोज । कास्कीलगायत देशका विभिन्न भू–भागमा भारीदेखि अति भारीसम्म वर्षा हुनसक्ने पूर्वानुमान गरिएसँगै सम्भावित विपद्जन्य घटनाबाट हुने क्षति न्यूनीकरणका लागि कास्कीमा पूर्वतयारीसहित उच्च सतर्कता अपनाइएको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले बाढीपहिरोको जोखिमलाई दृष्टिगत गरी यातायात सेवा, शैक्षिक संस्था, पर्यटन गतिविधि आदिसँग सम्बन्धित विभिन्न निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए ।
उनका अनुसार बिहीबारदेखि आइतबारसम्म कास्कीबाट अन्य जिल्लाका लागि छुट्ने रात्रिकालीन सेवाका सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरिएको छ । जिल्लाका ग्रामिण भेगमा दिउँसो ४ बजेदेखि नै सवारीसाधन नचलाउन आग्रह गरिएको सहायक प्रजिअ बरालले बताए । कास्कीका पर्यटकीयस्थलमा हुने पदयात्रामा पनि रोक लगाइएको छ । पदयात्रामा गएकालाई सुरक्षित स्थानमा फर्कन सम्बन्धित पर्यटन संस्थाहरुमार्फत सूचित गर्ने निर्णय गरिएको छ ।
अस्पताल, रेडक्रसलगायत सङ्घसंस्थाहरुलाई सम्भावित विपद्पछिको उद्धार तथा राहतका लागि तयारी अवस्थामा रहन भनिएको सहायक प्रजिअ बरालले बताए । फेवाताल, बेगनासताललगायत तालतलैयामा जल पर्यटन सम्बद्ध गतिविधि सञ्चालन गर्दा सुरक्षाका माफदण्डको पूर्ण रुपमा पालना गर्न अनुरोध गरिएको छ । मौसम प्रतिकुल भएका अवस्थामा जल पर्यटनसम्बद्ध गतिविधि सञ्चालनमा रोक लगाइने भएको छ ।
जिल्ला प्रशासन कार्यालयले भारी वर्षाको सम्भावना रहेको अवधिसम्म नदी तथा खोलाको तटीय क्षेत्रमा नजान, अत्यावश्यक अवस्थामा बाहेक लामो दुरीको यात्रा नगर्न र विपद्जन्य घटना घटेमा तत्काल स्थानीय तह र स्थानीय प्रशासनलाई सूचित गर्न सर्वसाधारणलाई आग्रह गरेको छ । स्थानीय तहलाई नदी तथा पहिरोको जोखिममा रहेका बस्तीमा तत्काल सूचना प्रवाह गर्न, आवश्यक परे सुरक्षित स्थानमा स्थानान्तरणको तयारी गर्न तथा परिस्थितिअनुसार विद्यालय बन्द गर्न भनिएको छ ।
सम्भावित विपद्लाई दृष्टिगत गर्दै अस्पताल तथा स्वास्थ्य संस्थालाई एम्बुलेन्स, चिकित्सक र स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राख्न जिल्ला विपद् समितिले आग्रह गरेको । विपद्का बेला तत्काल उद्धारका लागि हेलिकप्टर सेवा प्रदायक संस्थालाई पनि तयारी अवस्थामा रहन भनिएको छ । जल तथा मौसम विज्ञान विभागले कास्कीसहित गण्डकी प्रदेशका विभिन्न जिल्लामा बिहीबारदेखि आइतबारसम्म भारीदेखि अति भारीसम्म वर्षा हुनसक्ने जनाएको छ ।




प्रतिक्रिया