भारी वर्षाको सम्भावनासँगै झापामा विपद् पूर्वतयारी तीव्र


भद्रपुर (झापा), ८ असोज । भारी वर्षाको सम्भावनासँगै झापामा बाढी, डुबान तथा अन्य विपद्बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि उद्धार टोलीदेखि आवश्यक उपकरणसम्म तयारी अवस्थामा राखिएको छ ।

मौसम पूर्वानुमान महाशाखाले असोज ८ देखि १२ गतेसम्म कोशी प्रदेशसहित विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना औँल्याएपछि जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिले पूर्वतयारी तीव्र पारेको हो ।

प्रमुख जिल्ला अधिकारी एवं समितिका संयोजक श्रवणकुमार पोखरेलले सम्भावित विपद्का लागि स्थानीय तह, सुरक्षा निकाय तथा सम्बन्धित निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको बताए ।

“जोखिमयुक्त क्षेत्र पहिचान गरेर सुरक्षाकर्मीलाई सतर्क अवस्थामा राखिएको छ । उद्धारका लागि आवश्यक सामग्री तथा सडक अवरुद्ध भए तत्काल सञ्चालन गर्न डोजर, स्काभेटर र लोडरलगायत उपकरण तयारी अवस्थामा राखिएको छ”, उनले भने ।

सम्भावित बाढी तथा डुबानका लागि डुङ्गा, त्रिपाल, खाद्य सामग्रीलगायत राहत सामग्रीसमेत तयारी अवस्थामा राखिएको उनले जानकारी दिए ।

स्थानीय तह, सुरक्षा निकाय र सम्बन्धित कार्यालयबीच निरन्तर समन्वय गरी आवश्यक परे तत्काल उद्धार तथा राहतमा परिचालन हुने व्यवस्था मिलाइएको उनले बताए ।

प्रजिअ पोखरेलका अनुसार, झापा गाउँपालिका, गौरीगन्ज, गौरादहका केही वडा, शिवसताक्षीका तटीय क्षेत्र तथा भद्रपुरस्थित मेची नदी आसपासका बस्तीलाई बाढी तथा डुबानको जोखिमका दृष्टिले उच्च प्राथमिकतामा राखिएको छ । कनकाई, माई, बिरिङ, रतुवा, मावा, निन्दा र कमल खोलालगायत नदी तथा खोलाका तटीय क्षेत्रमा सतर्कता बढाइएको छ ।

नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालका अनुसार जोखिमयुक्त क्षेत्रमा साइरन बजाउने, माइकिङ गर्ने तथा आवश्यक परे प्रभावित बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तयारी गरिएको छ ।

जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्र (डिइओसी) मार्फत सूचना प्रवाह तथा स्थानीय तह र सुरक्षा निकायबीचको समन्वयलाई थप प्रभावकारी बनाउने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।