मनसुनी विपद्को पूर्वतयारी र प्रतिकार्यमा ध्यान दिन सरकारलाई सुझाव


काठमाडौँ, ८ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद धनञ्जय रेग्मीले पछिल्लो समय विकसित नयाँ मनसुनी प्रणालीको प्रभावबाट नागरिकको जीउधनको सुरक्षा गर्न आवश्यक पूर्वतयारी र प्रतिकार्यको योजना बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा उनले नयाँ मनसुनी प्रणालीको प्रभाव बढ्ने आँकल गरेर सरकारले नागरिकलाई अत्यावश्यक बाहेक घरबाहिर ननिस्कन भनेर मात्रै नागरिकको जीउ धनको सुरक्षा गर्न नसकिने बताए ।

“नागरिकलाई घरमै बस्नु भन्ने सन्देशसँगै घरवरपरका जमिन सुरक्षित छ÷छैन भनेर हेर्नुहोस् भन्न सन्देशपनि जनतासामु पु¥याउन जरुरी छ”, उनले भने, “पहाडी क्षेत्रमा बसोबास गर्ने नागरिकले जमिनमा नयाँ चिरा परेको, धसिएको वा फुलेको छ कि, नयाँ ठाउँमा पानीको मुल फुटेको छ कि भनेर ध्यान दिन जरुरी छ, पहिराका पूर्वसङ्केत देखिएमा घरमै बसिरहनु भन्दा समयमै सुरक्षित स्थानमा सर्नुपर्छ ।”

सांसद रेग्मीले आगामी केही दिन सञ्चारमाध्यम, सामाजिक सञ्जालमार्फत बाढीको चेतावनीसँगै पहिरोका पूर्वसङ्केतबारे सरल भाषामा सूचना फैलाउन सरकारको ध्यानाकर्षण गराए ।

रास्वपाका ज्ञानेन्द्रसिंह महताले आपत्कालीन स्वास्थ्य उद्धारसँग सम्बन्धित विद्यमान कानुन र आवश्यक प्रक्रियागत व्यवस्थाका तत्काल पुनरावलोकन गरी प्रत्येक नागरिकको आकस्मिक समयमा उपचार पाउने हकको सुनिश्चितता गर्न माग गरे ।

सोही पार्टीका टीका सङ्ग्रौलाले कञ्चनपुरका भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकलाई पदीय मर्यादाको दुरुपयोग गर्दै थर्काएको भन्दै राष्ट्रिय सुरक्षा र निजामती सेवाको मर्यादामा आघात पु¥याउने सो घटनासँग सम्बन्धित ‘अडियो’ सामग्रीको तत्काल छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरे ।