राष्ट्रिय स्वाभिमानको सट्टा पपुलिजमको खेती गरिएको भन्दै बालेनमाथि रावलको कडा प्रहार


काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं केन्द्रीय सदस्य भीम रावलले वर्तमान बालेन शाह नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सरकारले मुलुकको स्थापित मूल्य-मान्यता, कूटनीतिक मर्यादा र राष्ट्रिय स्वाधीनतामाथि आँच पुर्‍याउने काम गरिरहेको आरोप लगाएका छन् ।
रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता रावलले सरकारका पछिल्ला कदम र कार्यशैलीप्रति गम्भीर चिन्ता व्यक्त गरे ।
संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका प्रस्थान गरेका प्रधानमन्त्री बालेन शाहको शैलीप्रति टिप्पणी गर्दै रावलले राष्ट्रप्रमुख तथा सरकारप्रमुखको पोशाक, हिँडाइ र बोलाइले देशको इज्जत र गरिमा राख्ने बताए ।

‘नेपालको स्वाधीनता झल्किने पहिचानयुक्त पोशाक छाडेर हस्याङफस्याङ गर्दै अमेरिका जाँदा र ओर्लिँदा पनि प्रम बालेन औपचारिक पोशाकमा नदेखिनु व्यक्तिगत कुरा होइन,’ रावलले प्रश्न गरे, ‘विमानस्थलमा सलामी नलिएर र औपचारिक पोशाकबिना जुल्फी हल्लाएर जाँदैमा के खर्च जोगिन्छ र ? सल्लाहकारको तीन दर्जन चाङ राख्ने, अमेरिका जाँदा परराष्ट्र मन्त्री शिशिर खनाल र प्रधानमन्त्री दुवैले १४–१४ जनाको टोली लैजाने तर सलामी नलिनु ढोंग मात्र हो ।’
न्युयोर्कमा एआईमार्फत प्रम बालेनको स्वागतको भीड देखाएर रास्वपा कार्यकर्ताले भ्रम र ढोंग फैलाएको आरोपसमेत उनले लगाए ।

जलवायु परिवर्तनका सम्बन्धमा राष्ट्रसंघमा बोल्न लागेका प्रधानमन्त्रीलाई सुझाव दिँदै रावलले भने, ‘भोटेकोशी बाढीबाट प्रभावित हजारौँ जनता र बेपत्ताहरूको पीडालाई राष्ट्रसंघमा स्पष्टसँग राख्नुपर्छ । विगतका सरकारहरू (माधव नेपाल, पुष्पकमल दाहाल, केपी शर्मा ओली) ले उठाउँदै आएको जलवायु न्यायको निरन्तरताका रूपमा कुरा राख्नुपर्छ, विगतको निन्दा गरेर कूटनीति चल्दैन ।’

प्रधानमन्त्री बालेनले सीमासम्बन्धी विषयमा संसद्मा ‘छापामार शैली’मा गएर नेपालले भारतको जमिन मिचेको भनेर विवादास्पद सम्बोधन गरेको उल्लेख गर्दै उनले कूटनीतिक परिपक्वता देखाउन आग्रह गरे । यस्तै, अर्थमन्त्री स्वर्णिम वाग्लेको भारत भ्रमणका क्रममा औपचारिक वार्तामा नेपालको झन्डा नहुनु गम्भीर विषय भएको भन्दै सरकारसँग जवाफ मागेका छन् ।

यसैबीच, मुस्ताङमा युरेनियम जस्तो बहुमूल्य धातु रहेको क्षेत्रमा तथ्याङ्क केन्द्रको नाममा निश्चित भू-भाग अमेरिका र अस्ट्रेलियालाई सुरक्षाको जिम्मा दिने तयारी भइरहेको दाबी गर्दै रावलले त्यसप्रति आपत्ति जनाए । यो खेलले नेपालको सार्वभौमसत्तामाथि खतरा पुर्‍याउने र छिमेकी देश भारतले समेत यसको विरोध गरेको उनले स्पष्ट पारे ।

जेनजी आन्दोलनको घटनाक्रमको स्मरण गराउँदै रावलले युवाहरूले सुशासन, भ्रष्टाचारीमाथि कारबाही र सामाजिक सञ्जालको प्रतिबन्ध खुलाउने माग राखेको भए पनि आन्दोलनको आडमा सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति भवनलगायतका राज्यका प्रतीकहरूमाथि आक्रमण हुनु देशलाई कमजोर बनाउने रणनीति भएको उल्लेख गरे ।

‘जेनजी युवाहरूले पुराना केही पनि मान्दैनौँ भने तर संविधानले नचिनेकी ७५ वर्ष नाघेकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री बनाइयो,’ रावलले भने, ‘त्यतिबेला र रास्वपा सरकार बनेपछि पनि दलाई लामाको बधाई आउनु र नेपालमै उनको जन्मोत्सव मनाइनुले गम्भीर प्रश्न उब्जाएको छ ।’

विदेशबाट ऋण नलिने घोषणा गरेको रास्वपाले सरकारमा आएको केही महिनामै अर्बौँ ऋण लिएको तर त्यो उत्पादनमूलक क्षेत्रमा नलगाएको रावलको आरोप छ ।

दैनिक उपभोग्य वस्तु दाल, तेल, चामल र एलपीजी ग्यासको मूल्य बढे पनि र अभाव कायमै रहे पनि बजार अनुगमन हुन नसकेको उनले बताए ।
रास्वपा सभापति रवि लामिछानेको भारत भ्रमण सफल भएको दाबी गरिए पनि त्यही समयमा भारतले नेपाली चियामा प्रतिबन्ध लगाएको स्मरण गराउँदै नेता रावलले सरकारलाई देशको स्वाधीनता, स्वतन्त्रता र अखण्डता जोगाएर बाढीपीडितको पुनर्गठनमा ध्यान दिन आग्रह गरेका छन् ।