दाङ, ८ असोज । तुलसीपुरवासीलाई गुणस्तरीय शुद्ध खानेपानी पु¥याउने उद्देश्यले साढे तीन वर्षअघि सुरु गरिएको बबई लिफ्टिङ योजना अझै अधुरो अवस्थामा छ ।
आयोजना समयमा सम्पन्न नहुँदा उपभोक्ता आधारभूत खानेपानी पाउने हकबाट समेत वञ्चित हुन परेको छ । तुलसीपुर उपमहानगरपालिका–६ का सुशीला भट्टराई गुणस्तरीय खानेपानी पाउन त परैजाओस् एक वर्षदेखि धारामा पानी नआउँदा समस्या भोग्नुपरेको गुनासो गर्छन् ।
उपभोक्ता तथा सरसफाइ संस्थाले सुरु गरेको बबई लिफिटङ खानेपानी आयोजना लामो समयसम्म अल्झि रहेपछि स्थानीयवासी पटक–पटक खानेपानी संस्थामा पुगी छिटो सम्पन्न गर्न हारगुहार गरिरहेका छन् ।
संस्थानबाट बबईको लिफिटङ परियोजना सम्पन्न भएपछि मात्र तुलसीपुरमा खानेपानीका समस्याको समाधान हुने जवाफ पाउने गरेको उनले गुनासो गरे ।
उनी भन्छन्, “गर्मीयाममा संस्थाले ट्याङकरबाट निःशुल्क पानी वितरण गरेपनि साउनदेखि भने छिमेकी गाउँबाट पानी ल्याएर पिउने गरिएको छ ।
आयोजना समयमा पूरा नहुँदा घरमा सरसफाइ, शौचालय तथा अन्य कामका लागि प्रयोग गरिने पानी महगो शुल्क तिरेर ट्याङ्करबाट ल्याउन बाध्य परेको उनको भनाइ छ । यो समस्या सुशिलाको मात्र नभई टोलका २५ घर परिवारले लामो समयदेखि भोग्न परेको छ ।
खानेपानी संस्थाको सहलगानीमा अघि बढिरहेको लिफ्टिङ योजनामा विद्युत जडानलगायतका केही महत्त्वपूर्ण काम अझै बाँकी रहेको जनाइएको छ ।
संस्थाका अध्यक्ष यमकान्त भण्डारीका अनुसार आयोजनाको काम फटाफट भएमा आगामी मङ्सिर पहिलो हप्तासम्ममा हुनेछ ।
अध्यक्ष भण्डारीका अनुसार विस २०७९ बाट सुरु भएको उक्त आयोजना तीन वर्षभित्र सम्पन्न नभएपछि पुनः एक वर्ष म्याद थप गरिएको थियो । नेपाल सरकारको ७० प्रतिशत र खानेपानीका उपभोक्ताको ३० प्रतिशत समेत गरी रु ५६ करोड ८० लाख २४ हजारको लागतमा अघि बढिरहेको छ । हाल आयोजनाको पाइप जडान र एक दर्जन बढी ट्याङ्की निर्माणको काम भने सम्पन्न भएको छ ।
उक्त आयोजना सम्पन्न भएपछि एक सय लिटरप्रति सेकेन्ड पानीको आपूर्ति हुने अध्यक्ष भण्डारीले जानकारी दिए । उनका अनुसार तुलसीपुरस्थित नयाँ बसपार्क, रानीजरुवा नगरपालिकाको–६ को रजौरासहितका बस्तीमा खानेपानी आपूर्ति भई स्थानीयवासीले लामो समयदेखि भोग्दै आएको समस्या समाधान हुनेछ ।
यसैबीच, संस्थाले मुलकोट, राम्री, चिसापानी, घेरेनी, बाख्रे, छरछरे र पहरेमा भइरहेको अनधिकृत प्राकृतिक स्रोतको उत्खननलाई रोक्न तथा मुहानको संरक्षण गर्न पहल गरिरहेको उपाध्यक्ष नारायणप्रसाद शर्माले जानकारी दिए ।




प्रतिक्रिया