बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ


धनगढी, ९ असोज । हिमाली जिल्ला बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका किसानले उत्पादन गरेको विषादीरहित अग्र्यानिक स्याउ बिक्रीका लागि बिहीबार कैलालीको धनगढी आइपुगेको छ ।

गाउँका किसानले उत्पादन गरेको स्याउ स्थानीय बजारमा खपत नभएपछि बजारीकरणका लागि धनगढी ल्याइएको स्वामीकार्तिक खापर गाउँपालिकाका–१ का स्याउ किसान दानबहादुर रावलले बताए ।

किसान रावलले लामो समयदेखि रुपाली कृषि फार्म नामक कृषि फार्म दर्ता गरी स्याउखेती गर्दै आएका छन् । “व्यावसायिक रूपमा स्याउखेती गर्दै आउनुभएका रावलले स्याउको उत्पादन बढे पनि बजारको अभावमा किसान पीडामा छन्”, उनले भने, “यहाँका धेरै किसानले स्याउखेती गरेका छन्, किसानका बगैँचामा स्याउ राम्रो फलेको छ, तर बिक्री नहुने भएपछि लगानी र मिहिनेत खेर जाने अवस्था देखिएपछि धनगढी ल्याएको हुँ ।”

उनले आफू लगायत सात जना किसानको बगैँचामा उत्पादन भएको स्याउ सङ्कलन गरेर धनगढी ल्याएको बताए । किसानले उत्पादन गरेको स्याउ सुरक्षित राख्ने ठाउँ नहुँदा बारीमै कुहिने तथा सस्तोमा बिक्री गर्नुपर्ने अवस्था रहेको उनले दुःखेको थियो ।

गाउँमा उत्पादन भएको स्याउको बजारको सुनिश्चतता, सङ्कलन केन्द्र, उचित मूल्य र शीतभण्डारको व्यवस्था भएको भए स्थानीय किसानको अर्थोपार्जनसँगै ठूलो राहत मिल्ने किसान रावलको भनाइ छ ।

रावलले गाउँमा बिक्री गर्न असहज भएपछि कालीकोट, दैलेख, सुर्खेत हुँदै तीन दिन लगाएर करिब आठ टन रेड, रोयल र गोल्डेन जातका स्याउ धनगढी ल्याएको हो । स्याउको मूल्य प्रतिकिलोग्राम रु १२० रहेको छ ।

रासायनिक विषादीको प्रयोग नगरी उत्पादन गरिएको यो स्याउ बजारमा उपलब्ध अन्य जातको स्याउभन्दा रसिलो, सस्तो र स्वादिष्ट रहेको पाइएको छ ।