सुकुम्बासी र उखु किसानको पक्षमा उभियो कांग्रेस


काठमाडौँ । राज्यको प्राथमिक दायित्व नागरिकको गाँस, बास र कपासको सुनिश्चितता गर्नु हो। तर, पछिल्लो समय सरकारका कदमहरू ठीक उल्टो दिशातर्फ उन्मुख देखिएको भन्दै नेपाली कांग्रेसले गम्भीर आपत्ति जनाएको छ। एकातिर वैकल्पिक व्यवस्थाबिना होल्डिङ सेन्टरमा रहेका सुकुम्बासी परिवारलाई हटाउने सरकारी निर्णय र अर्कोतिर उखु किसानको मूल्य निर्धारण तथा बक्यौता भुक्तानीमा देखिएको चरम उदासीनताले सरकारको जनउत्तरदायित्वमाथि गम्भीर प्रश्नचिह्न खडा गरिदिएको कांग्रेसको ठहर छ।

सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले सरकारको रवैयालाई अमानवीय र गैरजिम्मेवार ठहर गरेको छ। बैठकको मुख्य निष्कर्ष के छ भने विगतमा घर भत्काएर व्यवस्थित बसोबास र लालपुर्जा दिने आश्वासन दिएर महिनौँसम्म अनिश्चितताको बन्दी बनाइएका सुकुम्बासी परिवारलाई अहिले अस्थायी आश्रयस्थल (होल्डिङ सेन्टर) बाट समेत लखेट्न खोजिनु संविधानप्रदत्त आवासको हक, प्रचलित कानुन र सामाजिक न्यायको मर्ममाथिको ठाडो प्रहार हो। राज्य नागरिकको अभिभावक बन्नुपर्नेमा उल्टै घरबारविहीनहरूको बाँकी रहेको अस्थायी छानोसमेत खोस्न उद्यत भएपछि कांग्रेसले यसलाई गम्भीर विषय बनाएको हो।

सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या राज्यको दमन र बलजफ्ती विस्थापनबाट नभई मानवीय संवेदनासहितको दीर्घकालीन र न्यायपूर्ण नीतिबाट मात्र समाधान हुन सक्छ भन्ने कांग्रेसको स्पष्ट अडान छ। सरकारको निर्णय तत्काल फिर्ता लिएर सुरक्षित तथा सम्मानजनक पुनर्वासको व्यवस्था गर्न माग गर्नुले कांग्रेसले भुइँमान्छेको पक्षमा वकालत गर्न खोजेको प्रस्ट हुन्छ। अझ महत्त्वपूर्ण कुरा कांग्रेस औपचारिक विज्ञप्तिमा मात्र सीमित नरही स्थलगत रूपमै पीडितको पक्षमा उभिन खोजेको देखिन्छ। होल्डिङ सेन्टरको अवस्था बुझ्न, समन्वय गर्न र सहजीकरणको भूमिका निर्वाह गर्न केन्द्रीय सदस्य केशव निरौलाको संयोजकत्वमा मदनकृष्ण श्रेष्ठ र प्रबल थापा सदस्य रहेको तीन सदस्यीय समिति गठन गर्नुले पार्टीको सक्रिय हस्तक्षेपलाई सङ्केत गर्छ।

कांग्रेसको आपत्ति शहरी क्षेत्रका भूमिहीनको मुद्दामा मात्र सीमित छैन, ग्रामीण अर्थतन्त्रको मेरुदण्ड मानिने उखु किसानको पीडासँग पनि उत्तिकै जोडिएको छ। उखुको उत्पादन लागत र चिनीको बजार मूल्यलाई आधार मानेर तत्काल समर्थन मूल्य निर्धारण गर्न तथा वर्षौँदेखिको बाँकी बक्यौता अविलम्ब भुक्तानी गराउन कांग्रेसले सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ। हरेक वर्ष उखु काट्ने बेला मूल्य नतोकिने र चिनी मिलबाट भुक्तानी नपाउने पुरानो रोगले किसानलाई पलायनको बाटोमा धकेलिरहेको अवस्थामा सरकारको मौनतालाई कांग्रेसले गम्भीर रूपमा लिएको हो।

कांग्रेसका अनुसार बालेन सरकारको सुकुम्बासीको अस्थायी आश्रय खोस्ने हतारो र किसानको पसिनाको मूल्य तोक्ने ढिलासुस्तीले सरकारको प्राथमिकतामा आम नागरिक र श्रमजीवी वर्ग नपरेको स्पष्ट हुन्छ। सरकारले देखाएको यही अकर्मण्यता र संवेदनहीनताविरुद्ध उभिँदै कांग्रेसले आफूलाई जनजीविकाको रक्षकका रूपमा प्रस्तुत गर्न खोजेको जनाएको छ।