चोलेन्द्र पक्राउबारे कांग्रेसले खोज्यो सरकारसँग जवाफ


काठमाडौं । नेपाली कांग्रेसले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएको घटनाबारे सरकारसँग जवाफ मागेको छ।

कांग्रेस प्रवक्ता देवराज चालिसेले विज्ञप्ति जारी गर्दै जबरालाई नियन्त्रणमा लिने क्रममा सरकारी अधिकारीहरूबाटै फरक–फरक धारणा सार्वजनिक हुनु गम्भीर विषय भएको बताएका छन्। कांग्रेसले घटनाको कानुनी आधार र औचित्य सरकारले सार्वजनिक गर्नुपर्ने माग गरेको छ।

कांग्रेसले कुनै विशेष सुरक्षा चुनौती, अनुसन्धानको आवश्यकता वा अन्य असाधारण परिस्थितिका कारण जबरालाई कार्यालयमा ल्याइएको हो भने त्यसको विश्वसनीय आधारसमेत राज्यले स्पष्ट पार्नुपर्ने जनाएको छ।

अपराध अनुसन्धान र कानून कार्यान्वयनको विपक्षमा कांग्रेस नरहेको उल्लेख गर्दै प्रवक्ता चालिसेले कानून कार्यान्वयनका नाममा अस्पष्ट र अन्योलपूर्ण प्रक्रिया अपनाउन नहुने बताएका छन्।

उनका अनुसार कानूनको शासन भनेको राज्यले कानून प्रयोग गर्नु मात्र नभई राज्यका सबै निकाय संविधान र कानूनको सीमाभित्र रहनु पनि हो। ‘कानूनको शासन भनेको राज्यले कानून प्रयोग गर्नु मात्र होइन, राज्यका सबै निकायहरू स्वयं पनि संविधान र कानूनको सिमा भित्र रहनु पर्दछ । यस सम्वन्धमा हामी स्पष्ट छौं,’ प्रवक्ता चालिसे भन्छन्, ‘कसैले कानूनको उलंघन गरेको छ भने निष्पक्ष अनुसन्धान होस, प्रमाणका आधारमा कारबाही होस् र दोषी ठहरिए कानून बमोजिम सजाय होस् । तर गिरफ्तारी स्वयं दोषको प्रमाण हुँदैन ।’