काठमाडौँ, ११ असोज । विश्व पर्यटन दिवस २०२६ का अवसरमा चित्रकला तथा फोटो प्रदर्शनी आयोजना गरिएको छ । बागमती प्रदेश पर्यटन कार्यालयले ४७औँ विश्व पर्यटन दिवसका अवसरमा आज काठमाडौँमा एकदिने चित्रकला तथा फोटो प्रदर्शनी आयोजना गरेको हो ।
प्रदर्शनीमा बागमती प्रदेशको पर्यटकीय, प्राकृतिक, सांस्कृतिक तथा कलात्मक पहिचान झल्किने चित्र तथा तस्बिर समावेश गरिएका छन् । कुल १६ कलाकारका २१ वटा विभिन्न विधाका उत्कृष्ट कलाकृति अवलोकनका लागि राखिएको पर्यटन कार्यालय बागमती प्रदेशका प्रमुख पवनकुमार पोखरेलले जानकारी दिए ।
प्रदर्शनीमा विशेषगरी बागमती प्रदेशका प्रमुख पर्यटकीय स्थल, सांस्कृतिक सम्पदा, प्राकृतिक सौन्दर्यका साथै नेपालमा प्रचलित विभिन्न परम्परागत तथा आधुनिक कला शैलीलाई प्रस्तुत गरिएको छ । प्रदर्शनीमा कलाकार एससी सुमन, केशवराज खनाल, देवेन्द्र थुम्केली, नरबहादुर विक, प्रदीप अधिकारी, शोभा ढकाल, देवासी काफ्ले, प्रकाश मिजार, सञ्जय प्रधान, सिकन्दर चौधरी, बाबुराम पौडेल र नारायण ढुङ्गानालगायत स्रष्टाका कलाकृति राखिएका छन् ।




प्रतिक्रिया