भोटेकोसी बाढीपछि तीन रणनीतिसहित अघि बढ्न सरकारलाई सांसद न्यौपानेको सुझाव


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद तथा जलस्रोत विज्ञ इञ्जिनियर श्रीराम न्यौपानेले भोटेकोसी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, पुनर्निर्माण र भविष्यमा हुने विपद् न्यूनीकरणका लागि सरकारले स्पष्ट रणनीतिसहित अघि बढ्नुपर्ने बताएका छन्।


रिपोर्टर्स क्लब नेपालद्वारा आइतबार आयोजित साक्षात्कारमा बोल्दै न्यौपानेले भाद्र १० गते रसुवाको भोटेकोसीमा आएको बाढीपछि आफूले आफ्नो अनुभव, योग्यता र उपलब्ध सबै साधन प्रयोग गरेर उद्धार कार्यमा खटिएको बताए।

सांसद सागर ढकालसँगको समन्वयमा सुरुङभित्र उद्धार कार्य सञ्चालन गरिएको उनले जानकारी दिए। उद्धार अभियानमा नेपाली सेनाले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको उनको भनाइ थियो। रसुवास्थित सुरुङ क्षेत्रमा पुगेपछि २४ घण्टा नै उद्धारमा खटिने वातावरण निर्माण गरिएको र त्यसमा आयोजना सम्बद्ध कर्मचारीको समेत महत्वपूर्ण योगदान रहेको उनले बताए।


न्यौपानेले विपद्पछि अब सरकारले तत्काल तीनवटा रणनीति बनाएर अघि बढ्नुपर्नेमा जाेड दिए । उनका अनुसार विश्व समुदायको ध्यानाकर्षण गराउने, भौतिक संरचनाको पुनर्निर्माण गर्ने र विपद्बाट विचलित परिवारको व्यवस्थापन गर्ने कामलाई सरकारले एकीकृत रूपमा प्राथमिकताका साथ अघि बढाउनुपर्छ।


जलविद्युत आयोजनामा ठूलो क्षति पुगेको उल्लेख गर्दै उनले अब निर्माण हुने आयोजनालाई अझ व्यवस्थित र सुरक्षित बनाउनुपर्ने बताए। विशेषगरी सुरुङ निर्माण गर्दा आपतकालीन अवस्थामा स्वचालित रूपमा प्रणाली बन्द हुने प्रविधि (अटोमेटिक शटडाउन सिस्टम) अनिवार्य गर्नुपर्नेमा उनले जोड दिए।


उनले जलवायु परिवर्तनका कारण नेपालमा देखिन थालेका जोखिमलाई दीर्घकालीन रूपमा सम्बोधन गर्न नेपाल, भारत र चीनबीच सहकार्य आवश्यक रहेको बताए। तीनवटै देशले जलवायुजन्य विपद् न्यूनीकरणका लागि साझा ‘मास्टर प्लान’ बनाएर अघि बढ्नुपर्ने उनको भनाइ थियो।


न्यौपानेले नेपालले अब जलविद्युत उत्पादनसँगै हाइड्रोजन उत्पादनतर्फ पनि ध्यान दिनुपर्ने बताए। ‘अब हाइड्रोजन उत्पादन गर्नेतिर ध्यान दिनुपर्छ,’ उनले भने।


विद्युत उत्पादनलाई नेपालको आर्थिक समृद्धिको महत्वपूर्ण आधारका रूपमा अघि बढाउनुपर्ने उल्लेख गर्दै उनले विद्युत उत्पादनबाटै नेपाललाई समृद्ध बनाउन सकिने धारणा राखे।