पूर्वप्रधानन्यायाधीश जबरालाई राति घरबाटै लगिएपछि जेनजी अभियन्ता विकको आपत्ति


काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई प्रहरीले राति निवासबाट नियन्त्रणमा लिएर केही घण्टापछि आफन्तको जिम्मा लगाएको घटनाप्रति जेनजी अभियन्ता शुनिल वि‍कले आपत्ति जनाएका छन्।


प्रहरीले जबरालाई सुरक्षा खतरा रहेको भन्दै शनिबार राति सुरक्षित स्थानमा लगिएको जनाएको थियाे । तर खतरा के थियो, कसबाट थियो र घरबाटै लैजानुपर्ने कानुनी आधार के थियो भन्नेबारे प्रहरीले स्पष्ट पारेको छैन।


शुनिलले सुरक्षा खतरा थियो भने घरमै सुरक्षा व्यवस्था गर्न सकिने अवस्थामा जबरालाई राति घरबाटै किन लगियो? भन्दै प्रश्न गरेका छन्।

उनले जबरालाई नियन्त्रणमा लिँदा अपनाइएको कानुनी प्रक्रिया र अदालतको पक्राउ पुर्जीसम्बन्धी विषयसमेत स्पष्ट पार्न सरकारसँग माग गरेका छन्। ‘न्यायको जिम्मेवारी बोकेको पूर्वप्रधानन्यायाधीशलाई राति घरबाटै किन लगियो? कानुनी प्रक्रिया के थियो? सुरक्षा खतरा थियो भने घरमै सुरक्षा किन मिलाइएन?’ वि‍कले प्रश्न गरे ।


उनले घटनाको सत्यतथ्य र कानुनी आधार सरकारले तत्काल सार्वजनिक गर्नुपर्ने बताएका छन्। वि‍कले कानुन सबैका लागि समान हुनुपर्ने भन्दै सरकारसँग नागरिकलाई स्पष्ट जवाफ दिन माग गरेका छन्।