काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको अनुगमनका क्रममा आफ्नो टोलीलाई भेटघाट गर्न रोकिएको घटनाप्रति आपत्ति जनाउँदै संवैधानिक तथा कानुनी अधिकारको सम्मान गर्न सरकारको ध्यानाकर्षण गराएको छ।
नेपाल प्रहरीले जबरालाई पक्राउ गरी टेकुस्थित अपराध अनुसन्धान कार्यालयमा राखेपछि आयोगको सदस्य नेतृत्वको उच्चस्तरीय टोली अनुगमनका लागि त्यहाँ पुगेको थियो। तर प्रहरीबाट आयोगको टोलीलाई जबरासँग भेटेर आवश्यक जानकारी लिन रोक लगाइएको आयोगले जनाएको छ। आपत्ति जनाउँदै आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘संवैधानिक तथा कानूनी अधिकार विपरीत नेपाल प्रहरीबाट गरिएको यस प्रकारको व्यवहारप्रति आयोग खेद प्रकट गर्दछ ।’
आयोगका अनुसार अनुगमनका लागि प्रहरीको उच्च नेतृत्वसँग कुराकानी गर्दा समेत टोलीलाई अनुगमन गर्न नदिनुको कारणबारे कुनै जानकारी दिइएन।
आयोगले घटनाको निष्पक्ष छानबिन गरी संवैधानिक तथा कानुनी दायित्व पूरा गर्ने कार्यमा अवरोध गर्ने प्रहरी कर्मचारीलाई कानुनी दायरामा ल्याउन माग गरेको छ।
राष्ट्रिय मानव अधिकार आयोग ऐन, २०६८ को दफा ४(क) ले आवश्यकता अनुसार सार्वजनिक तथा निजी संस्था वा अन्य स्थानको निरीक्षण तथा अनुगमन गर्ने र मानव अधिकार संरक्षणका लागि आवश्यक सुधारबारे सम्बन्धित निकायलाई सुझाव तथा निर्देशन दिन सक्ने अधिकार आयोगलाई दिएको छ।
यसैबीच, प्रहरीले गएराति पक्राउ गरेका जबरालाई करिब १२ घण्टापछि दिउँसो पुनः घरमै लगेर छाडेको छ। सुरक्षाको कारण देखाउँदै प्रहरीले उनलाई राति घरबाट नियन्त्रणमा लिएर टेकुस्थित कार्यालयमा ल्याएको थियो।




प्रतिक्रिया