काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले शनिबार मध्यराति निवासबाट नियन्त्रणमा लियाे । करिब १२ घण्टापछि उनलई घरमै पुर्याएर छाडियाे ।
शनिबार राति करिब साढे १२ बजे उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोली जबराको निवास पुगेको थियो। प्रहरीले सुरक्षा जोखिम रहेको भन्दै उनलाई कार्यालयमा आफूहरुसँग जान आग्रह गरेको थियो। सुरुमा जान अस्वीकार गरेका जबरा र प्रहरीबीच करिब डेढ घण्टा रस्साकस्सी भएपछि टेकु जान तयार भए ।
राति ३ बजे टेकुमा पुर्याइएका जबरालाई आइतबार दिउँसो १२ बजेतिर प्रहरीले घरमै पुर्याएर छाड्यो। तर उनलाई किन नियन्त्रणमा लिइयो र १२ घण्टामै किन छाडियो भन्ने विषयमा प्रहरी र जबराले हालसम्म कुनै कारण सार्वजनिक गरेका छैनन्।
चाेलेन्द्रले सरकारविरुद्ध गतिविधि गरिरहेकाे स्रोतको दाबी
रिपोर्टस नेपाललाई प्राप्त उच्च स्रोतका अनुसार जबराले बालेन शाह नेतृत्वको सरकार ढाल्न भित्री तयारी गरिरहेका थिए । उनले पूर्व प्रधानमन्त्री तथा नेकपा संयोजक प्रचण्ड , एमाले अध्यक्ष केपी ओली लगायतका नेताहरुसँग पनि भेटघाट तिव्र बनाएको थियो । सरकारविरुद्ध गतिविधि गरिरहेको भन्ने सूचना गृहमन्त्री सुधन गुरुङ र प्रधानमन्त्री बालेन शाहसम्म केही समयअघि नै पुगेको थियो । उक्त सूचना पाएलगत्तै प्रधानमन्त्री बालेन आक्रोशित थिए । त्यसपछि जबराको निवास बाँसबारीमा सादा पोषाकमा प्रहरीलाई निगरानीमा राखेको थियो ।
चाेलेन्द्रसँगकाे भेटपछि संसद् पुनःस्थापनाको विषयमा ओलीले अभिव्यक्ति दिएको स्रोतको दाबी छ। यसबाहेक जबराको निवास बाँसबारीमा पछिल्लो समय विभिन्न राजनीतिक व्यक्तिहरूको बाक्लो आउजाउ हुने गरेको स्रोतले बतायो।
कांग्रेसको आन्तरिक विवादमा पनि चाेलेन्द्र ?
स्रोतका अनुसार कांग्रेसको आन्तरिक विवाद र सर्वोच्च अदालतमा विचाराधीन विषयमा समेत जबराको सक्रियता रहेको थियो।
कांग्रेसको आधिकारिकतासम्बन्धी मुद्दा पुनः सुनुवाइमा लैजाने सर्वोच्चको आदेशपछि नयाँ संस्थापन पक्षले जबरासँग यसबारे चासो राखेको स्रोतले बतायो। स्रोतको दाबीअनुसार जबराले शेरबहादुर देउवा पक्षलाई पार्टीको आधिकारिकता सुरक्षित गरिदिने आश्वासन दिएका थिए।
त्यस्तै, देउवा नेपाल फर्कनुअघि नै जबराले उनका सम्भावित राजनीतिक एजेण्डाबारे आफ्ना निकटस्थलाई जानकारी गराएको स्रोतको दाबी छ। देउवा नेपाल फर्किएपछि बीपी कोइरालाको राष्ट्रिय मेलमिलाप नीति र हिन्दु राष्ट्रको विषय उठाएपछि उक्त विषयलाई समेत जबराको पूर्वजानकारीसँग जोडेर हेरिएको स्रोतले बतायो।
देउवालाई तत्काल पक्राउ नगर्न सर्वोच्चबाट आएको अन्तरिम आदेशलाई समेत जबरा–देउवा सम्बन्धसँग जोडेर हेर्ने गरिएको स्रोतको दाबी छ।
प्रधानन्यायाधीश शर्मामाथि पनि प्रभाव
चौथो वरीयतामा रहेका डा. मनोजकुमार शर्मा प्रधानन्यायाधीश बनेपछि पनि जबरा न्यायालयमा आफ्नो प्रभाव कायम राख्न सक्रिय रहेको स्रोतले बतायो। स्रोतको दाबीअनुसार जबराले प्रधानन्यायाधीश शर्मामाथि प्रभाव कायम गरेर आफूअनुकूल निर्णय प्रक्रियामा प्रभाव पार्ने प्रयास गरेका थिए।
कसरी छुटे चाेलेन्द्र ? के भयाे सहमति ?
जबरालाई करिब १२ घण्टामै छाडिएपछि उनी र सरकारबीच कुनै सहमति भएको हो कि भन्ने प्रश्न उठेको छ।
स्रोतका अनुसार, सरकारविरुद्ध गतिविधि नगर्न चेतावनी दिएर उनलाई प्रहरीले छाडेको हो। सरकारविरुद्ध गतिविधि जारी राखे सम्पत्तिको छानबिन अघि बढाउने तथा प्रधानन्यायाधीश हुँदा भएका विवादास्पद निर्णयसँग जोडिएका आर्थिक विषयको अनुसन्धान अघि बढाउने चेतावनीसमेत दिइएको स्रोतको दाबी छ ।
त्यसपछि उनलाई प्रहरीले लिखितमा ‘करारपत्र’ गरेर छाडिएकाे स्राेतले बतायाे ।
उनीमाथि केके छ आराेप ?
जबराको प्रधानन्यायाधीश कार्यकालसँग जोडिएका केही विषयमा विगतदेखि नै प्रश्न उठ्दै आएका छन्। उनी सर्वोच्च अदालतको नयाँ भवन निर्माण, इम्बोस्ड नम्बर प्लेट र रञ्जन कोइरालाको मुद्दालगायत विषय विवादमा आएका थिए।
सर्वोच्च अदालतको नँया भवन निर्माणमा अनियमितता भएको भन्दै उनीमाथि उजुरी परेको छ । तत्कालीन कामु प्रधानन्यायाधीश दीपकराज कार्कीले भवन निर्माणसम्बन्धी विषयलाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्र नै पठाएको थियो।
इम्बोस्ड नम्बर प्लेटसम्बन्धी निर्णयमा आर्थिक चलखेल भएको र ठेकेदार कम्पनी तथा नेपालस्थित एजेन्टहरूले फैसला प्रभावित पार्न खोजेको आरोप उनीमाथि छ। त्यस्तै, रञ्जन कोइरालाको मुद्दामा समेत आर्थिक लेनदेन भएको स्रोतको दाबी छ।
स्रोतको दाबीअनुसार जबराले ठूलो मात्रामा सम्पत्ति जोडेको र केही सम्पत्ति आफन्तका नाममा राखेको प्रमाण सुरक्षा निकायले फेला पारेकाे छ।




प्रतिक्रिया