श्रम संस्कृति पार्टीले प्रधानमन्त्री शाहसँग माग्यो सात प्रश्नको जवाफ


काठमाडौं । श्रम संस्कृति पार्टीले प्रधानमन्त्री बालेन्द्र शाहसँग सरकारका कामकारबाही र पछिल्ला घटनाक्रमबारे सातवटा प्रश्नको जवाफ मागेको छ।

सोमबार प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै पार्टीका सांसद ध्रुवराज राईले सभामुखसँग समय लिएर प्रधानमन्त्री शाह स्वयंले ती प्रश्नको जवाफ दिनुपर्ने माग गरेका हुन्।

सांसद राईले लामो समयदेखि संसद्ले प्रधानमन्त्रीको जवाफ खोजिरहेको भन्दै प्रधानमन्त्री कहिले संसद्मा उपस्थित भएर जवाफ दिने हुन् ? भन्ने प्रश्न गरे।

त्यसपछि उनले गत १० भदौमा रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढी तथा त्यसबाट भएको जनधनको क्षतिबारे सरकारको तयारी र राहतबारे जवाफ मागे। पछिल्लो समय बाढीपहिरोका कारण २१ जनाको मृत्यु भएको विषयमा पनि प्रधानमन्त्रीले जवाफ दिनुपर्ने उनको भनाइ थियो।

१० भदौको बाढीबाट रसुवा, नुवाकोट, धादिङ हुँदै चितवनसम्मका नदी तटीय क्षेत्रमा ठूलो क्षति भएको थियो। घटनामा ठूलो संख्यामा मानिस प्रभावित हुनुका साथै अर्बौं रुपैयाँ बराबरको भौतिक क्षति भएको बताइएको छ।

राईले राजनीतिक विश्लेषक तथा लेखक भरत दाहालको पक्राउको विषय पनि संसद्मा उठाए। सरकारले दाहाललाई पक्राउ गरेपछि सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको इजलासले पक्राउ गर्नुको लिखित कारण पेस गर्न आदेश दिएको विषयमा समेत प्रधानमन्त्रीको जवाफ मागियो।

त्यस्तै, पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएर केही घण्टामै छाडेको विषयमा पनि राईले प्रश्न गरे। जबरालाई कुन कसुरमा र कुन पुर्जीका आधारमा नियन्त्रणमा लिइएको हो भन्ने स्पष्ट नभएको भन्दै उनले सरकारको जवाफ मागेका हुन्।

‘लामो समयदेखि प्रधानमन्त्रीको जवाफ खोजेर बसेका छौं । सायदै चाँडो सरकार प्रमुख आएर हामलाई उत्तर दिनुहुन्छ,’ उनले भने, ‘१० भदौको विनाशकारी बाढी मात्रै होइन । पछिल्लो समय बाढीका कारण २१ जनानको मृत्यु भएको छ।’

भरत दाहाल र जबराको पक्राउ तथा रिहाइबारे प्रश्न गर्दै राईले भने, ‘घरि भरत दाहाल पक्राउ, गर्‍यो छोड्यो । घरि चोलेन्द्रशमशेर पक्रियो, छोड्यो ।’

उनले थपे, ‘कम्तीमा विषय गम्भीर छ भने सिरियसली लाग्नुहोला । होइन भने सरकारले यो कुन हिसावले काम गरिरहेको छ ?’

सांसद राईले नागरिकमा बढ्दै गएको निराशा र पछिल्लो समय भएका आत्मदाहका घटनालाई पनि संसद्मा उठाए। उनले नागरिक किन निराश भइरहेका छन् र किन आत्मदाहजस्तो कदम चालिरहेका छन् भन्ने विषयमा प्रधानमन्त्रीसँग जवाफ मागे।

काठमाडौंको त्रिपुरेश्वर क्षेत्रमा पछिल्लो समय सुरक्षाकर्मी तथा नियमनकारी निकायसँगको विवादपछि आत्मदाहका दुई घटना भएको विषय उनले संसद्मा स्मरण गराए। यस्ता घटनाले नागरिकमा बढ्दो निराशा र राज्य संयन्त्रप्रतिको असन्तुष्टि देखाउने उनको भनाइ थियो।

त्यसैगरी, सांसद राईले संसद्को भूमिका र गरिमा बढाउने सरकारको योजनाबारे पनि प्रश्न गरे। संसद्प्रति नै जनतामा नकारात्मक धारणा बन्ने अवस्था आएको भन्दै उनले सरकारको ध्यानाकर्षण गराए।

समग्रमा सरकारका पछिल्ला गतिविधि, बाढीपहिरोको व्यवस्थापन, पक्राउ तथा रिहाइका घटना, नागरिकमा बढ्दो निराशा र संसद्को भूमिकालगायत विषयमा प्रधानमन्त्री शाह स्वयं संसद्मा उपस्थित भएर जवाफ दिनुपर्ने श्रम संस्कृति पार्टीको माग छ।