शान्ति सुरक्षाकाे माग गर्दै चाेलेन्द्रले दिए प्रहरीमा निवेदन


काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफ्नो तथा परिवारको शान्ति सुरक्षाका लागि आवश्यक व्यवस्था मिलाइदिन प्रहरीसमक्ष निवेदन दिएका छन्।

जबराका छोरा सचिन्द्रशमशेर जबरामार्फत आइतबार काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा निवेदन बुझाइएको हो।

पछिल्लो राजनीतिक तथा सामाजिक अवस्था, सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आएका सुरक्षा चुनौतीसँग सम्बन्धित विषयका कारण आफू र परिवारको सुरक्षाप्रति गम्भीर चिन्ता बढेको निवेदनमा उल्लेख गरिएको छ।

राज्यका विभिन्न निकायमा जिम्मेवारी सम्हालेको तथा न्यायपालिकाको नेतृत्व गर्दा गरेका न्यायिक निर्णयका कारण आफू थप असुरक्षित महसुस गरिरहेको जबराले निवेदनमा बताएका छन्।

पछिल्लो समय केही विषयमा प्रहरी कार्यालयबाटै जानकारी पाएपछि थप सुरक्षा आवश्यक देखिएको भन्दै उनले आफ्नो निवास, परिवार तथा जिउज्यानको सुरक्षामा राज्यका सुरक्षा निकायले विशेष ध्यान दिनुपर्ने माग गरेका छन्।

आफूसम्बन्धी सम्पूर्ण विवरण सुरक्षा निकायलाई जानकारी नै रहेको उल्लेख गर्दै जबराले सम्भावित सुरक्षा जोखिमलाई ध्यानमा राखी आवश्यक सुरक्षा व्यवस्था मिलाउन आग्रह गरेका छन्।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी सुशीलसिंह राठौरले जबराको निवेदन प्राप्त भएको पुष्टि गरे।

यसअघि शनिबार राति प्रहरीले जबरालाई उनको निवासबाट नियन्त्रणमा लिएर टेकुस्थित अपराध अनुसन्धान कार्यालय लगेको थियो। करिब १२ घण्टापछि आइतबार दिउँसो उनलाई घरमै पुर्‍याएर छाडिएको थियो।