काठमाडौं । सर्वोच्च अदालतले विवाह गर्ने भन्दै झुटो आश्वासन दिएर सहमतिमै गरिएको यौन सम्बन्धलाई स्वतन्त्र सहमति नभइ बलात्कार ठहर गरेको छ।
न्यायाधीशद्वय सपना प्रधान मल्ल र नित्यानन्द पाण्डेयको इजलासले उच्च अदालत पाटनको सफाइ फैसला उल्टाउँदै समिर भन्ने शम्शेर तामाङलाई दोषी ठहर गरेको हो। सर्वोच्चले भक्तपुर जिल्ला अदालतको फैसला सदर गर्दै उनलाई ७ वर्ष कैद र पीडितलाई ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउने निर्णय गरेको छ।
फेसबुकमार्फत चिनजान भएकी महिलालाई विवाहको आश्वासन दिएर घरबाट भगाई भक्तपुर ल्याएको र त्यहाँ इच्छाविपरीत पटक–पटक यौन सम्बन्ध राखेको आरोपमा मुद्दा परेको थियो। पछि आफूलाई विवाहको आश्वासन दिने व्यक्ति पहिले नै विवाहित रहेको खुलेपछि महिलाले प्रहरीमा जाहेरी दिएकी थिइन्।
यसअघि भक्तपुर जिल्ला अदालतले तामाङलाई दोषी ठहर गरे पनि उच्च अदालत पाटनले दुवै जना सहमतिमै केही दिन सँगै बसेको भन्दै सफाइ दिएको थियो।
उच्च अदालतको फैसला उल्टाउँदै सर्वोच्चले यौन सम्बन्धका लागि व्यक्तिको स्वतन्त्र र वास्तविक सहमति आवश्यक हुने स्पष्ट पारेको छ। आफू विवाहित हुँदाहुँदै विवाहको झुटो आश्वासन दिएर प्राप्त गरिएको सहमतिलाई कानुनी रूपमा स्वतन्त्र सहमति मान्न नसकिने सर्वोच्चको ठहर छ।
झुटो आश्वासन र छलकपटले व्यक्तिको शारीरिक स्वायत्तताको अधिकार हनन गर्ने भएकाले घटनाको समग्र परिस्थिति हेरेर सहमति वास्तविक थियो या थिएन भन्ने निरुपण गर्नुपर्ने अदालतको ठहर छ।
सर्वोच्चकाे पूर्णपाठ हेर्नुहाेस् :




प्रतिक्रिया