काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका जिल्ला उपसभापति पदबाट हटाइएका टाकाराज थापा (सुरेश) ले आफूमाथि राजनीतिक पूर्वाग्रह राखेर षड्यन्त्रपूर्ण ढङ्गले कारबाही गरिएको आरोप लगाएका छन् ।
पदबाट हटाइएपछि सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै थापाले केही स्वार्थ समूहका व्यक्तिहरूले आफ्नो इमान्दारिता, नैतिकता र व्यक्तिगत चरित्रमाथि प्रहार गरेको बताएका छन् । उनले आफूमाथि लगाइएको आरोप तथा गरिएको कारबाहीलाई आफूलाई बदनाम गर्ने सुनियोजित प्रयासका रूपमा व्याख्या गरेका छन् ।
आफू भगवान् शिवको भक्त रहेको उल्लेख गर्दै थापाले जबर्जस्ती पिलाइएको विषलाई कण्ठमै राख्ने सामर्थ्य आफूसँग रहेको टिप्पणी गरेका छन् । आफूले कुनै गलत काम नगरेको दाबी गर्दै उनले आफ्नो नैतिकता र चरित्रमाथि प्रश्न उठाउने प्रयासको जवाफ समयले दिने संकेतसमेत गरेका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मैले विष खाएको छैन । यो त मेरो इमान्दारिता गिराउने, नैतिकताको हत्या गर्ने र मेरो चरित्रमा दाग लगाउने केही व्यक्तिहरूको ठूलो राजनीतिक षड्यन्त्र मात्र हो ।’
मकवानपुर जिल्ला समितिले कारबाहीका लागि सिफारिस गरेपछि रास्वपा बागमती प्रदेश समितिले थापालाई जिल्ला उपसभापतिको जिम्मेवारीबाट हटाएको थियो ।
गत जेठमा हेटौँडामा सम्पन्न रास्वपा मकवानपुरको पहिलो जिल्ला अधिवेशनबाट उपसभापतिमा निर्वाचित भएका थापा पद सम्हालेको छ महिना नपुग्दै जिम्मेवारीबाट मुक्त भएका हुन् ।




प्रतिक्रिया