काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई मध्यराति बिनापुर्जी नियन्त्रणमा लिइएको घटनाले संसदीय राजनीतिमा नयाँ तरङ्ग पैदा गरेको छ। सरकारको यो कदमलाई ‘पञ्चायती निरंकुशताको पुनरावृत्ति’ भन्दै नेपाली कांग्रेसले वर्तमान सरकारको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएको छ।
राष्ट्रिय सभाको बैठकमा बोल्दै कांग्रेस सांसद आनन्दप्रसाद ढुंगानाले पूर्वप्रधानन्यायाधीशको गिरफ्तारीको कारण र कानुनी आधारबारे प्रधानमन्त्री र गृहमन्त्रीले तत्काल सदनमा उपस्थित भई स्पष्टीकरण दिनुपर्ने माग गरे। बिनापुर्जी र मध्यरातिको समयमा न्यायपालिकाका पूर्वप्रमुखलाई नियन्त्रणमा लिनुले विधि र कानुनको शासनको उपहास गरेको उनको तर्क थियो।
सांसद ढुंगानाले सरकारको ध्यान जनजीविकाका सवालमा केन्द्रित नभएको आरोप पनि लगाए। पछिल्ला प्राकृतिक विपद्का घटना र बाढीपीडितका दर्दनाक अवस्थाबारे सरकार पूर्णतः मौन रहेको भन्दै उनले शून्य समयमा संसद्मा उठेका मुद्दाहरूलाई सरकारले निरन्तर बेवास्ता गर्दै आएकोमा खेद व्यक्त गरे।
न्यायपालिकाका पूर्वप्रमुखमाथि अपनाइएको यो शैली र जनसरोकारका मुद्दामा देखा परेको उदासीनताले वर्तमान सरकार लोकतान्त्रिक मूल्य-मान्यताबाट विचलित हुँदै गएको स्पष्ट संकेत गरेको उनको ठम्याइ छ ।




प्रतिक्रिया