मानव अधिकार आयोगले सोधपुछका लागि खड्कालाई बोलायो


काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पक्राउ प्रकरणमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्कालाई बोलाएको छ ।

आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलका अनुसार प्रहरी प्रधान कार्यालयमार्फत खड्कालाई मंगलबार आयोगमा उपस्थित हुन भनिएको हो ।

जबरालाई पक्राउ गरेपछि आयोगको टोली अनुगमनका लागि टेकुस्थित अपराध अनुसन्धान कार्यालय पुगे पनि प्रहरीले टोलीलाई गेटबाटै फर्काएको विषयमा छलफल गर्न खड्कालाई बोलाइएको पोखरेलले बताए ।

‘आइतबार पूर्वप्रधानन्यायाधीश पक्राउ परेको र त्यसपछि आयोगको टोलीले अनुगमन गर्न नपाएको विषयमा छलफलका लागि उहाँलाई बोलाइएको हो,’ उनले भने ।

आयोगको टोली आइतबार जबराको पक्राउको अनुगमन गर्न टेकु पुगेको थियो । तर, करिब एक घण्टा प्रतीक्षा गराएपछि प्रहरीले टोलीलाई कार्यालय प्रवेश गर्न नदिई फर्काएको थियाे ।

उक्त घटनाप्रति आयोगले आइतबार नै विज्ञप्ति जारी गर्दै आपत्तिसमेत जनाएको थियो।