राष्ट्रियसभा बैठक : बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र सडक सञ्चालन गर्न सांसदको माग


काठमाडौँ, १२ असोज । सांसदहरूले लगातार वर्षाका कारण विभिन्न जिल्लामा भएको बाढीपहिरोको क्षति तथा प्रभावितलाई तत्काल उद्धार, राहत र पुनःस्थापनाको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

राष्ट्रियसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै सभा सदस्यहरुले देशभर चार दिनसम्म परेको अविरल वर्षाका कारण विभिन्न स्थानमा बाढीपहिरोले जनधन तथा भौतिक संरचनामा पुर्याएको क्षतिप्रति सभाअध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराए ।

नेपाली कम्युनिष्ट पार्टीका सांसद राजेन्द्रलक्ष्मी गैरेले पाल्पामा बाढीपहिरोका कारण सडक अवरुद्ध भएको, मानवीय तथा भौतिक क्षति भएको बताइन् । उनले बाढीपहिरोमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रभावित परिवारप्रति दुःख व्यक्त गरिन् ।

सडक, पुल तथा भवनमा पुगेको क्षतिबारे सभाअध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराउँदै उनले उद्धारमा खटिएका सबैप्रति आभार व्यक्त गरिन् । नेकपा (एमाले)का सांसद सम्झना देवकोटाले चार दिनको अविरल वर्षाका कारण गण्डकी प्रदेशका मनाङमा आएको बाढीपहिरो र मुख्य राजमार्गमा पुगेको क्षति तत्काल मर्मत गरी सञ्चालनमा ल्याउन माग गरिन् ।

उनले स्थानीय बजार तथा बस्तीमा परेको प्रभावप्रति चिन्ता व्यक्त गर्दै नजिकिँदै गरेको चाडपर्वका बेला सडक अवरुद्ध हुँदा आवतजावत र दैनिक उपभोग्य वस्तुको आपूर्तिमा समस्या तथा महँगी बढ्न नदिन आवश्यक सहयोग समयमै जुटाउन सरकारसँग माग गरिन् । जनता समाजवादी पार्टी नेपालका सांसद पूजा चौधरीले बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई तीव्रता दिन माग गरिन् ।

उनले विपद्का कारण महामारीको जोखिम बढ्न सक्ने भन्दै त्यसतर्फ पनि सरकारको ध्यानाकर्षण गराइन् । रसुवाका बाढी प्रभावितलाई समयमै राहत उपलब्ध गराउन तथा पुनःस्थापनाको काम अघि बढाउन माग गर्दै उनले बजारमा हुन सक्ने महँगी र कृत्रिम अभाव नियन्त्रण गर्न आग्रह गरिन् ।