नेप्से परिसूचक १६ दशमलव ४७ अङ्कले घट्यो


काठमाडौँ, १२ असोज । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६ दशमलव ४७ अङ्कले घटेर दुई हजार ६१३ दशमलव ३३ मा पुगेको छ । यो शून्य दशमलव ६२ प्रतिशतको गिरावट हो ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ३४ अङ्कले घटेर ४६७ दशमलव ६७ मा पुगेको छ । फ्लोट सूचक एक दशमलव ११ अङ्कले घटेर १८० दशमलव शून्य सात मा पुगेको छ भने सेन्सेटिभ फ्लोट सूचक शून्य दशमलव ४८ अङ्कले घटेर १५७ दशमलव ८८ मा पुगेको छ ।

आज विभिन्न कम्पनीका एक करोड ३१ लाख ७८ हजार १२८ कित्ता सेयर रु पाँच अर्ब ३८ करोड ५७ लाख ८५ हजार ४१४ मूल्यमा खरिद बिक्री भएको छ । आज १३ उपसमूहमध्ये व्यापार शून्य दशमलव २३ प्रतिशतले बढेको छ भने बाँकी सबै उपसमूहको मूल्य घटेको छ ।

आज ४९ कम्पनीको सेयर बढ्दा २२४ घटेका छन् भने छ कम्पनीको सेयर मूल्य स्थिर रहेका छन् । नेप्सेका अनुसार केबिएल डिबेञ्चर, लक्ष्मी सनराइज डिबेञ्चर, प्राइम बैंक डिबेञ्चर लगायतका लगानीकर्ताले कमाएका छन् । त्यसैगरी हाथवे इन्भेष्टमेन्ट नेपाल, इमर्जिङ नेपाल र ग्लोबल आइएमई ब्यालेन्स फण्डलगायतका लगानीकर्ताहरुले गुमाएका छन् ।