काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले १५औँ महाधिवेशनका लागि निर्वाचन निर्देशिका र कार्यतालिका सार्वजनिक गरेको छ। पूर्वमहामन्त्री डा. शशांक कोइरालाको नेतृत्वमा रहेको १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिले उक्त निर्देशिका जारी गरेको हो।
निर्देशिकाअनुसार केन्द्रीय सभापतिको उम्मेदवारका लागि मनोनयन शुल्क ३० हजार रुपैयाँ तोकिएको छ। त्यस्तै, उपसभापति र महामन्त्री पदका लागि २५ हजार, सहमहामन्त्रीका लागि २० हजार तथा केन्द्रीय सदस्यका लागि १० हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ।
यस्तै, प्रतिनिधिसभाको अधिवेशन प्रतिनिधिका लागि दुई हजार रुपैयाँ शुल्क तोकिएको छ भने केन्द्रीय महाधिवेशन प्रतिनिधि र केन्द्रीय महासमिति सदस्यका उम्मेदवारले तीन हजार रुपैयाँ बुझाउनुपर्नेछ। प्रदेश तहमा प्रदेश सभापतिको उम्मेदवारका लागि १० हजार, प्रदेश उपसभापति, महामन्त्री र सहमहामन्त्रीका लागि ६ हजार तथा प्रदेश सदस्यका लागि तीन हजार रुपैयाँ शुल्क तय गरिएको छ।
सार्वजनिक कार्यतालिका अनुसार आगामी असोज १५ गतेदेखि वडा अधिवेशन सुरु हुनेछ। गाउँ तथा नगरपालिका अधिवेशन असोज २० गते र प्रदेश सभा तथा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन असोज २३ गतेका लागि तोकिएको छ। त्यसैगरी, कात्तिक १५ गते जिल्ला अधिवेशन र मंसिर ४ गते प्रदेश अधिवेशन सञ्चालन गरिनेछ भने केन्द्रीय महाधिवेशन आगामी मंसिर २१ देखि २३ गतेसम्म काठमाडौँमा सञ्चालन हुनेछ।





प्रतिक्रिया