‘बालेन सरकार आफैं भ्रष्टाचारमा मुछिएको छैन, तर पुराना फाइल खोल्न सकेन’


काठमाडौँ । स्वतन्त्र नागरिक अभियानका अध्यक्ष ऋषि धमलाले वर्तमान बालेन शाह नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारले आफैं भ्रष्टाचार नगरे पनि विगतका भ्रष्टाचारका फाइल खोलेर कारबाही गर्न नसकेको टिप्पणी गरेका छन्।

बालेन सरकार गठन भएको ६ महिना पुगेको अवसरमा रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै धमलाले सरकारको कामकारबाहीबारे समीक्षात्मक भनाइ राखेका हुन्।

विगतमा नेपाली कांग्रेस, एमाले, नेकपा र राप्रपाजस्ता पुराना दलहरू चुकेकाले उनीहरूकै गल्तीका कारण देशमा रास्वपाको सरकार बनेको धमलाको दाबी थियो। बालेन शाह प्रधानमन्त्री भएकै दिन आफ्नो नेतृत्वमा स्वतन्त्र नागरिक अभियान गठन गरिएको जानकारी दिँदै उनले सरकारले राम्रो काम गरे समर्थन र गल्ती गरे खबरदारी गर्ने नीति लिइएको स्पष्ट पारे।

“यो सरकार बनेपछि आफैं भ्रष्टाचार गरेको छैन, देशलाई घाटा हुने काम गरेको छैन भन्ने मेरो ठहर हो,” धमलाले भने, “तर विगतमा भएका भनिएका भ्रष्टाचारका काण्डै-काण्डका फाइल सरकारले किन खोलेन? भ्रष्टाचारीलाई कारबाही गर्न बालेन सरकार चुक्यो।”

सरकारले ६ महिनामा कर्मचारीतन्त्रलाई विश्वासमा लिएर सुशासनका पाटोमा केही सुधार गरे पनि अर्थतन्त्र अझै चलायमान हुन नसकेको र रोजगारीको संकट कायम रहेको धमलाले बताए। उनले वैदेशिक लगानीकर्तालाई आकर्षित गरेर देशमा लगानी भित्र्याउनुपर्नेमा जोड दिए।

व्यवसायी र बैंकरहरूलाई धरपकड गरेर समस्या समाधान नहुने भन्दै धमलाले सरकारको पक्राउ शैलीप्रति असन्तुष्टि जनाए। विधि र प्रक्रिया नपुर्‍याई अपरिपक्व रूपमा कदम चाल्दा बिहान समात्ने र बेलुका छोड्नुपर्ने अवस्था सिर्जना भएको उनको भनाइ थियो। सोही क्रममा उनले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पनि अकारण नियन्त्रणमा लिइएको भन्दै आपत्ति व्यक्त गरे।

जलस्रोतको धनी देशमा विद्युत्‌मा भ्याट लगाउन नहुने भन्दै उनले उक्त कर तत्काल हटाउन, महँगी नियन्त्रण गर्न र विकास निर्माणका कामलाई तीव्र बनाउन आग्रह गरे। रास्वपा सरकारले विकास र रोजगारी सिर्जनाका लागि पूरा पाँच वर्ष काम गर्न पाउनुपर्ने उनको धारणा थियो।

भोटेकोशीको बाढी र पछिल्ला दिनको अविरल वर्षाका कारण भत्किएका सडक सञ्जाल तत्काल मर्मत गरी यातायात सहज बनाउन पनि उनले सरकारको ध्यानाकर्षण गराए। आगामी स्थानीय तह निर्वाचनमा गैरदलीय उम्मेदवारीको वकालत गर्दै आफ्नो अभियान देशभर जाने धमलाले घोषणा गरे।

साक्षात्कार कार्यक्रममा नेकपा एमालेका नेता शेरबहादुर तामाङ, नेपाली कांग्रेसका नेता उदयशमशेर जबरा, नेकपा नेता देवेन्द्र पौडेल र रास्वपा सांसद आशिष गजुरेलको पनि सहभागिता रहेको थियो।