‘चोलेन्द्र जबरा प्रकरणमा प्रधानमन्त्रीले स्पष्ट धारणा दिनुपर्छ’: अजय सोडारी



काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई ‘जेनजीबाट सुरक्षा थ्रेट’ रहेको भन्दै मध्यराति निवासबाट प्रहरीले नियन्त्रणमा लिएको घटनाबारे जेनजी अभियन्ता अजय सोडारीले प्रधानमन्त्री बालेन्द्र शाहसँग स्पष्ट धारणा माग गरेका छन्।


जबरालाई महाराजगञ्जस्थित निवासबाट प्रहरीले शनिबार राति नियन्त्रणमा लिएर उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुमा करिब १२ घण्टा राखेको थियो। प्रहरीले भने उनलाई ‘सुरक्षा चुनौती’का कारण सुरक्षित स्थानमा ल्याइएको बताएको छ। तर सुरक्षा चुनौतीको स्रोत र त्यसको आधारबारे प्रहरीले सार्वजनिक रूपमा विस्तृत जानकारी हालसम्म दिएको छैन।


सोडारीले विज्ञप्तिमार्फत यदि जबरामाथि जेनजी समूह, व्यक्ति वा कुनै अभियानबाट सुरक्षा थ्रेट आएको हो भने त्यसमा संलग्न व्यक्ति वा समूह तथा त्यसको आधिकारिक प्रमाण सार्वजनिक गर्न माग गरेका छन्। धम्की वा सुरक्षा चुनौती सिर्जना गरेको प्रमाणित भए कानुनबमोजिम कारबाही हुनुपर्ने उनले बताए ।


साथै, प्रमाणबिना जेनजी पुस्ता वा जेनजी आन्दोलनलाई आपराधिक गतिविधिसँग जोडेर बदनाम गर्ने प्रयास स्वीकार्य नहुने सोडारीले चेतावनी दिएका छन् ।


घटनामा प्रधानमन्त्री तथा प्रधानमन्त्रीको सचिवालयबाट प्रत्यक्ष निर्देशन भएको समाचार सार्वजनिक भएको भन्दै सोडारीले त्यसको सत्यता स्पष्ट गर्न माग गरेका छन्। सञ्चारमाध्यममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट दबाब आएको स्रोतको दाबीसमेत प्रकाशित भएको छ, तर सरकारबाट यसबारे विस्तृत औपचारिक स्पष्टीकरण सार्वजनिक भएको देखिँदैन।

सोडारीले जबरालाई नियन्त्रणमा लिनुपर्ने अवस्था, त्यसको कानुनी आधार र सरकारको भूमिकाबारे प्रधानमन्त्रीले तत्काल सार्वजनिक धारणा दिनुपर्ने बताएका छन्। ‘राज्यमा दण्डहीनताको अवस्था सिर्जना हुनुहुँदैन र सुरक्षा संयन्त्रको प्रयोग कानुन, प्रमाण तथा विधिको शासनअनुसार हुनुपर्छ’ भन्दै उनले घटनाको सत्यतथ्य सार्वजनिक गर्न जोडदार माग गरेका छन्।