काठमाडौँ । एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री डा स्वर्णिम वाग्ले आज स्वदेश फर्किएका छन् ।
कतारको राजधानी दोहामा आयोजित बैठकमा भाग लिन अर्थमन्त्री डा वाग्ले यही असोज १० गते त्यसतर्फ गएका थिए ।
नेपालको पूर्वाधार विकासका लागि बैंकको लगानी विस्तार, प्रविधि हस्तान्तरण तथा सदस्य राष्ट्रबीच थप सहकार्यको वातारण सृजना गर्न ‘दोहा बैठक’ फलदायी भएको उनको सचिवालयले जनाएको छ ।
बैठकले अर्थमन्त्री एवं एआइआइबीको गभर्नर परिषद्का गभर्नर डा स्वर्णिम वाग्लेलाई सन् २०२६–२७ का लागि उपसभापतिमा निर्वाचित गरेको छ । क्षेत्रीय सदस्य राष्ट्रमध्येबाट नेपाललाई उपसभापतिमा निर्वाचित गरेको हो ।
सो अवसरमा आयोजित ‘गभर्नर्स बिजनेस राउन्ड टेबल’ कार्यक्रममा अर्थमन्त्री डा वाग्लेले आवश्यक पुँजीको व्यवस्थासहित सडक, विद्युत्, सञ्चार तथा सूचना प्रविधिलगायत उत्पादनका क्षेत्रमा लगानी वृद्धि गर्नुपर्ने बताए ।
उनले नेपालजस्ता मुलुकको आवश्यकतासँग मेल खानेगरी बैंकको लगानीलाई अधिकतम् सहुलियतपूर्ण बनाउने, स्वदेशी तथा विदेशी निजी पुँजीलाई आकर्षित गर्ने र सम्बन्धित मुलुकको आवश्यकतालाई दृष्टिगत गरी उत्पादनमूलक लगानीमा जोड दिनुपर्ने धारणा व्यक्त गरे ।
अर्थमन्त्री डा वाग्लेले एआइआईबीका अध्यक्ष, बैंकका सदस्य राष्ट्र कतार, भारत, बङ्गलादेश, आर्मेनिया, जर्जियाका अर्थमन्त्रीसँग द्विपक्षीय हित, आर्थिक सहकार्य, लगानी विस्तार र नेपालले भोगेको प्राकृतिक विपत्तिपछिको पुनर्निर्माणमा सहयोगबारे छलफल गरेको उनको सचिवालयले जनाएको छ ।
नेपाल पहिलोपटक एसियाली पूर्वाधार लगानी बैंकको उपसभापतिमा निर्वाचित भएसँगै मुलुकको महत्त्वपूर्ण पूर्वाधार विकासका लागि बैंकको लगानी विस्तार, प्रविधि हस्तान्तरण र सहकार्यका लागि थप मार्गप्रशस्त हुने आशा गरिएको छ ।




प्रतिक्रिया