जेनजी आन्दोलन ‘हाइज्याक’ गरेर सुधन र बालेनले सरकार बनायाे: अजय सोडारी


काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका सह–संयोजक अजय सोडारीले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सुरक्षा थ्रेटको नाममा रातारात निवासबाट पक्राउ गरेको घटनाप्रति आपत्ति जनाएका छन्।


बुधबार रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कारमा बाेल्दै सोडारीले सरकारले घटनाबारे स्पष्ट जानकारी नदिई ‘अपराधिक शैलीमा’ जबरालाई नियन्त्रणमा लिएको टिप्पणी गरे। प्रहरीले जबरालाई जेनजीबाट सुरक्षा थ्रेट रहेको बताएकोप्रति पनि उनले कडा आपत्ति जनाए।


‘जेनजी अभियन्ताहरूसँग सोधपुछ गर्दा कसैले थ्रेट नदिएको पाइयो। उहाँसँग जेनजीको कुनै साइनो छैन,’ सोडारीले भने।
सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले मंगलबार जबरालाई जेनजीबाट नभई अपरिचित समूहबाट थ्रेट आएको बताएका थिए । उनका अनुसार जबराको फोनमा टेक्स्टमार्फत सुरक्षा थ्रेट आएपछि परिवारको आग्रहमा उनलाई सुरक्षित स्थानमा लगिएको हो।


तर सोडारीले सरकारको उक्त स्पष्टीकरणमाथि प्रश्न उठाएका छन्। उनले जेनजी आन्दोलन ‘हाइज्याक’ गरेर सुधन गुरुङ र प्रधानमन्त्री बालेन्द्र शाहले सरकार बनाएको आरोपसमेत लगाए।


उनले जबरालाई प्रधानमन्त्री बालेन्द्र शाह, प्रमुख राजनीतिक सल्लाहकार असिम शाह र कुमार व्यञ्जनकारबाटै थ्रेट रहेको दाबी गरे।
सोडारीले सरकारलाई जेनजी आन्दोलन र अभियन्तालाई बदनाम गर्ने काम नगर्न चेतावनी दिँदै घटनाको वास्तविकता सार्वजनिक गर्न माग गरेका छन्। उनले जबरालाई दिइएको सुरक्षा थ्रेटको स्रोत, त्यसको प्रमाण र उनलाई सुरक्षित स्थानमा लैजाने निर्णय प्रक्रियाबारे सरकारले स्पष्ट जानकारी दिनुपर्ने बताएका छन्।