काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपालमा रासायनिक मल कारखाना स्थापना गर्न सरकारले छिट्टै प्रस्ताव आह्वान गर्ने बताएका छन्।
बुधबार सिंहदरबारमा इन्जिनियरिङ पृष्ठभूमिका सांसदहरूसँगको छलफलमा प्रधानमन्त्री शाहले यस्तो जानकारी दिएको रास्वपा सांसद डा. राम लामाले बताए।
लामाका अनुसार प्रधानमन्त्री शाहले भने, ‘मल कारखाना खोल्नका लागि सरकारले चाँडै नै प्रस्ताव आह्वान गर्नेछ ।’
मल कारखानासहित विद्युत् खपत बढाउने आयोजना र योजनामा सरकारले आवश्यक सहुलियत दिने विषयमा समेत प्रधानमन्त्रीले जानकारी गराएका थिए।
निजी क्षेत्रसँगको सहकार्यमा मल कारखाना स्थापना गर्ने प्रतिबद्धता सरकारले यसअघि नै सार्वजनिक गरिसकेको छ। त्यसका लागि नीतिगत, कानुनी र भन्सार सुधार गर्ने उल्लेख छ।
छलफलमा १७ सांसद सहभागी थिए। प्रधानमन्त्री शाहले औद्योगिकीकरणका लागि नयाँ योजना तथा नीतिसम्बन्धी सुझाव सिधै प्रधानमन्त्री कार्यालयमा दिन आग्रह गर्दै त्यस्ता प्रस्ताव लिएर आउनेहरूसँग आफू सहज रूपमा भेट्न तयार रहेको बताएका थिए।




प्रतिक्रिया