जेनजी अभियन्ताको सरकारमाथि टिप्पणी: ‘काम शून्य, फेसबुकमा प्रचार धेरै’


काठमाडौं । जेनजी अभियन्ताहरूले वर्तमान सरकारको कामकारबाहीप्रति असन्तुष्टि जनाएका छन्। उनीहरूले सरकार बनेको ६ महिना बित्दा पनि अपेक्षित सुधार हुन नसकेको भन्दै यस्ताे टिप्पणी गरेका हुन्।


रिपोर्टर्स क्लब नेपालमा आयोजित एक कार्यक्रममा बोल्दै जेनजी अभियन्ता प्रदीप भट्टराईले सरकारको कामभन्दा सामाजिक सञ्जालमा प्रचार बढी भएको आरोप लगाए। उनका अनुसार सरकारले संविधान संशोधनलाई प्राथमिकतामा राख्नुपर्ने भए पनि त्यसतर्फ ठोस काम गर्न सकेको छैन।


भट्टराईले वर्तमान व्यवस्था नै परिवर्तन गर्नुपर्ने धारणा राखे। देशमा दीर्घकालीन सुधारका लागि कम्तीमा पाँच वर्ष स्थिर सरकार आवश्यक रहेको उनको भनाइ थियो।


अर्का अभियन्ता अमृत बोहोराले जेनजी आन्दोलनलाई बदनाम नगर्न सरकारलाई चेतावनी दिए। पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पक्राउ गर्ने क्रममा जेनजीको नाम जोडिएको भन्दै उनले आपत्ति जनाए।


‘जबराका गलत काम हुन सक्छन्। पक्राउ नगर्नू भनेको होइन। तर राति पक्राउ गर्ने अनि जेनजीको थ्रेट भन्नुहुन्छ। कुन जेनजीले थ्रेट दिएको हो ? कहिले दिएको हो ? त्यसको तथ्य सार्वजनिक गर्नुपर्छ,’ उनले भने।


यस्तै, अभियन्ता पृथिराज यादवले प्रधानमन्त्री बालेन शाहको शासन शैलीप्रति प्रश्न उठाए। उनले बालेनको व्यक्तिगत भूमिकालाई गलत नभने पनि शासन सञ्चालनको शैलीमा कमजोरी रहेको बताए।


‘बालेनलाई गलत भन्दिनँ, सही छ। तर शासन गलत छ,’ यादवले भने। उनले जेनजी आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेका व्यक्तिहरूले अवसर नपाएको भन्दै सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाए।

आन्दोलनका क्रममा पानी बाँड्ने व्यक्तिहरू मन्त्री बनेको तर आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नेहरू उपेक्षित भएको उनको टिप्पणी थियो।