प्रतिनिधिसभाः चार विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा


काठमाडौँ । प्रतिनिधिसभाबाट चारवटा विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन् ।

यसैगरी, मन्त्री गौतमले नै नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन् । यसैगरी उनले निःशुल्क कानुनी सहायतासम्बन्धी विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन् ।

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले राष्ट्रियसभामा उत्पत्ति भएको ‘सङ्क्रामक पशुरोग (नियन्त्रण) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन् । दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने चारवटै प्रस्ताव प्रतिनिधिसभाको आजको बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो । रासस