सुनसरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुलुकको विकास, समृद्धि र रोजगारी सिर्जनाका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताएका छन् ।
इटहरीमा आजदेखि सुरु भएको सातदिने रोजगार मेला तथा सीप प्रदर्शनीको उद्घाटन गर्दै उनले देश निर्माणका लागि निजी क्षेत्रलाई साथमा लिएर अघि बढ्नुपर्ने बताए ।
मुख्यमन्त्री कार्कीले सङ्घीय सरकार, प्रदेश सरकार, स्थानीय तह र निजी क्षेत्रबीच सहकार्य भए सीप विकास, उद्योग स्थापना र रोजगारी सिर्जनामा थप उपलब्धि हासिल गर्न सकिने बताए ।
निजी क्षेत्रको सम्भावनालाई सदुपयोग गर्न सरकारले उपयुक्त नीति, कानुनी तथा व्यवस्थापकीय व्यवस्था गर्नुपर्नेमा जोड दिँदै मुख्यमन्त्री कार्कीले सीप र तालिमका नाममा राज्यकोषबाट बर्सेनि ठूलो रकम खर्च भए पनि वास्तविक रोजगारी सिर्जना गर्ने सीप प्राप्त नभएको धारणा राखे ।
उनले प्रदेश सरकारले अहिले साना तथा मझौला उद्यम सञ्चालनका लागि सहुलियतपूर्ण तथा न्यूनतम धितोमा ऋण उपलब्ध गराउने व्यवस्था गरेको जानकारी दिए ।
नेपालमा उत्पादन बढाएर स्वदेशी बजारसँगै छिमेकी मुलुकका बजारको सम्भावनासमेत उपयोग गर्नुपर्ने बताउँदै उनले पर्यटन र घरेलु उत्पादनलाई जोडेर स्थानीयस्तरमै रोजगारीका अवसर विस्तार गर्न सकिने धारणा राखे । रासस




प्रतिक्रिया