काठमाडौं । प्रतिनिधि सभाको बुधबार बसेको बैठकले कानुनी तथा न्यायिक क्षेत्रसँग सम्बन्धित तीनवटा विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने निर्णय गरेको छ ।
कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले प्रस्तुत गरेको प्रस्तावलाई प्रतिनिधि सभाले सर्वसम्मतिले स्वीकृत गरेको हो ।
बुधबारको संसद् बैठकमा मन्त्री गौतमले ‘मेलमिलाप सम्बन्धी दोस्रो संशोधन विधेयक, २०८३’, ‘नेपाल कानून आयोग पहिलो संशोधन विधेयक, २०८३’ र ‘निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव पेस गरेकी थिइन् ।
सभामुखले निर्णयार्थ प्रस्तुत गरेको तीनवटै प्रस्तावको पक्षमा सांसदहरूले ‘हुन्छ’ भन्दै समर्थन जनाएका थिए ।
प्रस्तावको विपक्षमा कुनै आवाज नआएपछि सभामुखले तीनवटै विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको घोषणा गरेका थिए ।
अब ती विधेयकहरू सम्बन्धित विषयगत समितिमा जानेछन् । समितिमा विधेयकका विभिन्न दफामाथि विस्तृत छलफल तथा आवश्यक संशोधनको प्रक्रिया अघि बढ्नेछ ।
समितिले छलफलपछि तयार पारेको प्रतिवेदन पुनः प्रतिनिधि सभामा पेस गर्नेछ । त्यसपछि विधेयकमाथि थप संसदीय प्रक्रिया अघि बढ्नेछ ।




प्रतिक्रिया