रास्वपाको प्रदेशस्तरीय प्रशिक्षण कर्णालीबाट सुरु हुँदै


सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रदेशस्तरीय प्रशिक्षण अभियान कर्णाली प्रदेशबाट सुरु गर्ने भएको छ। प्रशिक्षणमा सहभागी हुन पार्टी सभापति रवि लामिछानेसहित उपसभापति स्वर्णिम वाग्ले, सोबिता गौतमलगायत शीर्ष नेताहरू सुर्खेत आउने भएका छन्।

रास्वपाका कर्णाली प्रदेश महामन्त्री ललित चन्दका अनुसार शनिबार र आइतबार गरी दुई दिन वीरेन्द्रनगरमा प्रशिक्षण कार्यक्रम सञ्चालन हुनेछ। कर्णालीबाट सुरु हुने अभियान त्यसपछि अन्य प्रदेशमा विस्तार गरिने पार्टीको तयारी छ।

कर्णालीलाई पार्टीले विशेष प्राथमिकतामा राखेकाले यहीँबाट प्रशिक्षण अभियान सुरु गर्न लागिएको चन्दले बताए।

‘कर्णालीलाई अहिले रास्वपाले विशेष तरिकाले हेरेको छ। चुनावमा पनि रास्वपाको अवस्था केही न्यून रहेको देखियो,’ उनले भने, ‘हरेक हिसाबले पछाडि परेको प्रदेश भएकाले सरकारले पनि अहिले प्राथमिकताका साथ काम गरिरहेको छ भने पार्टीले पनि कर्णालीलाई प्राथमिकतामा राखेर यहीँबाट प्रशिक्षणको सुरुवात गरेको हो।’

प्रशिक्षणका लागि सभापति लामिछाने, उपसभापति वाग्ले, सोबिता गौतम, महामन्त्री विपिन आचार्य, नेताहरू शिशिर खनाल, संगठन विभाग प्रमुख प्रमोद न्यौपाने, मुख्य सचेतक कविन्द्र बुर्लाकोटीलगायत नेता शुक्रबार नै वीरेन्द्रनगर पुग्ने कार्यक्रम रहेको चन्दले जानकारी दिए।

तीन सय नेता–कार्यकर्ता सहभागी हुने

रास्वपाले आयोजना गर्ने प्रशिक्षणमा कर्णालीका विभिन्न जिल्ला, प्रदेश तथा स्थानीय तहका गरी करिब ३०० जना नेता तथा कार्यकर्ता सहभागी हुने प्रदेश उपसभापति तुलाराज शाहीले बताए।

वीरेन्द्रनगरस्थित कौशीक गार्डेनमा सञ्चालन हुने प्रशिक्षणमा पार्टीको वैचारिक आधार, सिद्धान्त, राजनीतिक दृष्टिकोण, क्यान्डिडेट क्लब तथा लिडरसिप एकेडेमीका विषयमा प्रशिक्षण दिइनेछ।

यसैबीच, उम्मेदवार छनोटको विषयलाई लिएर सामाजिक सञ्जालमा आफूखुसी उम्मेदवारी घोषणा तथा प्रचार गर्ने प्रवृत्तिमाथि पार्टीले निगरानी गर्ने भएको छ।

सहमहामन्त्री राजबहादुर शाहका अनुसार ‘म नै उम्मेदवार हुँ’ भन्दै सामाजिक सञ्जालमा प्रचार गर्नेहरूलाई कारबाही गरिनेछ। उम्मेदवारको अन्तिम संख्या टुंगिन बाँकी रहेकाले सहभागीको संख्या थप बढ्न सक्ने उनले बताए।

८ जिल्लामा अधिवेशन सम्पन्न

रास्वपाले कर्णाली प्रदेशका १० जिल्लामध्ये आठ जिल्लामा अधिवेशन सम्पन्न गरिसकेको छ। डोल्पा र हुम्लामा भने अधिवेशन हुन बाँकी रहेको पार्टीले जनाएको छ।

महामन्त्री चन्दका अनुसार आगामी निर्वाचनलाई लक्षित गर्दै कर्णालीमा संगठन विस्तार र पार्टीको राजनीतिक गतिविधिलाई तीव्रता दिइएको छ।

‘कर्णालीमा बहुमतको सरकार निर्माण गर्ने हाम्रो लक्ष्य हो। सोहीअनुसार रास्वपा कर्णालीले आफ्नो तयारी गरिरहेको छ,’ चन्दले भने।

प्रदेशमा संगठनलाई थप बलियो बनाउँदै आगामी निर्वाचनमा पार्टीको उपस्थिति विस्तार गर्ने रणनीतिअनुसार प्रशिक्षण अभियान सञ्चालन गर्न लागिएको रास्वपाले जनाएको छ।