२३ वर्षदेखि सेवासुविधाविहीन कर्मचारी, जडीबुटी कम्पनीमा उत्पादन ठप्प


काठमाडौं । सरकारी स्वामित्वको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीका मासिक ज्यालादारी कर्मचारी २० दिनदेखि आन्दोलनमा छन्। सामाजिक सुरक्षा, चाडपर्व भत्ता र श्रम अदालतको फैसला कार्यान्वयनको माग गर्दै उनीहरू भदौ २४ गतेदेखि आन्दोलनरत छन्।

उत्पादन शाखाका कर्मचारी आन्दोलनमा उत्रिएपछि असोज ५ गतेदेखि कम्पनीको उत्पादन ठप्प छ। करिब ३० कर्मचारी कार्यालय परिसरमा नियमित धर्नामा बसिरहेका छन्।

२३ वर्षदेखि कम्पनीमा कार्यरत सुस्मिता गौतमले लामो समय काम गर्दा पनि अन्य कर्मचारीसरह सेवासुविधा नपाएको बताइन्। उनका अनुसार श्रम तथा रोजगार कार्यालय र श्रम अदालतले कर्मचारीको पक्षमा फैसला गरे पनि त्यसको कार्यान्वयन भएको छैन।

कर्मचारीहरूले सामाजिक सुरक्षा, न्यूनतम पारिश्रमिक, सञ्चयकोष, उपदान, बिरामी बिदालगायत सुविधा उपलब्ध गराउन माग गरेका छन्। माग पूरा नभएसम्म धर्ना जारी राख्ने उनीहरूको भनाइ छ।